राजनीति

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय (विज्ञप्तिसहित)

काठमाडाैं । चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ ।  तर, सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको छ । 

काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले  स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने निर्णयमा उल्लेख छ । संयुक्त संयन्त्रको संयोजन नेपाली काँग्रेसको पालिका सभापतिले गर्ने सहमति भएको छ । यस्तै गठबन्धन सहभागी दलहरूका वीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

भरतपूर महानगरपालिकामा माओवादी अध्यक्ष प्रचण्डका छोरी रेनु नगरप्रमुख छिन् । त्यहाँ माओवादीले फेरि पनि मेयरमा दावी गदै आएको छ । महानगरपालिकाको वाँडफाँड केन्द्रका शीर्ष नेताहरुको बैठकले लगाउने तयारी भईरहँदा कांग्रेसका स्थानीय नेताहरुले भने पार्टीभित्र दवाव बढाउन भरतपुर माओवादीलाइृ छोडन नसक्ने बताउँदै आएका छन् । तर सभापति देउवाले भने चितवन फेरि पनि माओवादीलाई नै छोडने संकेत गरिसकेका छन् । सभापतिलाई क्रस गरेर जान सक्ने अवस्थामा अहिले कांग्रेस छैन ।

सोमबार विहान कांग्रेस चितवनका सभापति खनालको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ । संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने छन् ।

जिल्लाको दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १–१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि भएको छ । बैठकमा सत्तारुढ दलका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको सहभागिता रहेको थियो । चितवनमा भरतपुर महानगरपालिकासहित ७ स्थानीय तह रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत