राजनीति

भरतपुरको प्रमुख नपाए गठबन्धनबिनै उम्मेद्वारी दिने चितवन कांग्रेसको निर्णय

नारायणगढ । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसको उमेदवार रहने गरी गठबन्धनका दलहरूबीच तालमेल प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय कमलनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयर पदमा कांग्रेसकै उमेदवार रहनुपर्ने निर्णय गरेको हो ।

अन्यथा कांग्रेस चितवन गठबन्धन नमान्ने निर्णयमा पुगेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए । ‘कांग्रेसको केन्द्र र प्रदेश समितिले जिल्ला समितिको निर्णयविपरीत भरतपुरको मेयर पदको उमेदवारी अन्य दललाई दिएमा कांग्रेस चितवन एक्लै चुनाव लड्छ,’ उनले भने, ‘हामीलाई एकल निर्वाचनमा जान कुनै समस्या छैन ।’ भरतपुरको मेयरमा सहजरूपमा कांग्रेसलाई उमेदवारी दिएमा भने गठबन्धनमा कुनै समस्या नरहने उनले बताए ।

पार्टीको केन्द्रीय समितिले जिल्लाको निर्णयविपरीत काम गरेमा आइतबार भएको निर्णय लिएर केन्द्र र प्रदेशको पार्टी कार्यालयमा जाने जिल्ला सभापति खनालले बताए । कांग्रेसले अघिल्लो निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रलाई सघाएको थियो । गत निर्वाचनमा माओवादीलाई सघाएकै कारण यसपटक गठबन्धनमा गए पनि महानगर प्रमुख भने कांग्रेसले नै पाउनुपर्ने अडानमा छ कांग्रेस चितवन ।

पार्टीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानसमेत सफल भएको जनाएको छ । अहिले सोही अभियानको दौरानमा आफ्नो पार्टीको तर्फबाट उमेदवार छनौट प्रकृया सुरू गरिएको सभापति खनालले बताए । ‘पार्टीको विधानअनुसार वडा अध्यक्षदेखि सबै सदस्य तथा पालिकामा प्रमुख र उपप्रमुखको छनौट प्रकृया चलिरहेको छ,’ उनले भने, ‘यही चैत २४ गतेसम्म वडाको र २६ गतेसम्म पालिकाको उमेदवार सिफारिस गरेपछि जिल्लामा आइपुग्छ ।’

त्यसपछि प्रकृयागतरूपमा आएका उमेदवारलाई जिल्ला समितिले चैत ३० गतेसम्म टुङ्ग्गो लगाएर प्रदेश र केन्द्रीय कार्यालयमा पठाउने उनले बताए । केन्द्रीय समितिबाटै सिफारिस भएर आएपछि भने उमेदावरको निश्चित टुङ्गो लाग्ने उनले बताए । पार्टीको आइतबार बिहान जिल्ला कार्यसमिति, केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय तथा प्रदेश सभापति, वडा सभापति, जिल्लाका पूर्व सभापति तथा पूर्व सांसदहरूसहितको बैठकले पनि पार्टीको आदर्श र सिद्धान्तविपरीत स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने सुझाव दिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत