म्यादी प्रहरीमा तीन गुना बढी आवेदन
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | १०:३९:०० मा प्रकाशित

काठमाडाैं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ९३ हजार ३१२ जनाको आवेदन परेको छ ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि माग गरिएको एक लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको हो । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार शुक्रबार अन्तिम दिनसम्म दुई लाख ९३ हजार ३१२ जनाले आवेदन दिएका हुन् ।
सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरु मार्फत् निवेदन दिन सक्ने व्यवस्थासहित चैत ६ देखि ११ गतेसम्मका लागि म्यादी प्रहरीमा भर्ना खोलिएको थियो ।
प्रहरीको तथ्यांकअनुसार आवेदन दिनेमा मधेश प्रदेशको जनकपुरमा सबैभन्दा बढी ६८ हजार छ जनाको आवेदन परेको छ । त्यसपछि लुम्बिनी प्रदेशमा ५६ हजार ५६०, प्रदेश नं.१ को विराटनगरमा ५० हजार ९४४, सुदूरपश्चिम प्रदेशमा २९ हजार ७१४, बागमती प्रदेशमा २६ हजार ८३४, गण्डकीमा २५ हजार ५० र सबैभन्दा कम उपत्यकामा १३ हजार ९५० आवेदन परेको छ ।
यसअनुसार प्रदेश नं.१ मा १७ हजार ८३१, मधेस प्रदेशमा २१ हजार ६९८, बाग्मती प्रदेशमा १९ हजार ३६३, गण्डकी प्रदेशमा १० हजार ६२५, लुम्बिनीमा १६ हजार ९८, कर्णालीमा सात हजार ७१३ र सुदूरपश्चिममा नौ हजार ९३७ र काठमाडौं उपत्यकामा चार हजार ७३५ म्यादी प्रहरीमा माग गरिएको थियो ।
भर्ना खुल्ला गरिएको पहिलो दिनदेखि नै आवेदन दिनेको भीड लागेको थियो । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत् आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने तयारी छ ।
भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान ÷ निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश ÷ उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी प्रहरीको छनोटमा प्राथमिकता दिइने छ ।
यसका लागि ४० दिनको कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट तीस हजार २४०, पोसाक बापत छ हजार, रासन बापत एकमुष्ट सात हजार २०० र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले रकम विनियोजन हुने गरी म्यादी प्रहरीको सुविधा निर्धारण गरिएको छ ।
म्यादी प्रहरीलाई बीमालगायतको सुविधा छ । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको हो । आवेदन दिनेले फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिक हुनुपर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस