अर्थतन्त्र

भारतबाट ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्दै प्राधिकरण

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुन नदिन भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत खरिद गर्ने भएको छ । बिहीबार राति १२ः१५ बजेदेखि लागू हुने गरी प्राधिकरणले २९ रुपियाँ प्रतियुनिट नोक्सान बेहोरेर भारतबाट विद्युत खरिद गर्न टेण्डर दर्ता गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

युक्रेन र रसियाको द्वन्द्वका कारण कोइला अभाव हुँदा विश्वभर विद्युत उत्पादनमा कमि आएको र यसको असर भारतमा पनि परेकाले विद्युत उत्पादन कमि भएपछि नेपालले विद्युत महँगोमा खरिद गर्न बाध्य हुनुपरेको घिसिङले जानकारी दिए । नेपालमा जलस्रोतबाट विद्युत उत्पादन गर्ने गरे पनि अन्य देशहरुले भने ७० प्रतिशत कोइलाबाट विद्युत उत्पादन गर्ने गरेका छन् ।

हाल नेपालमा १६५० मेगावाट विद्युत माग रहेको छ । गत वर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नुपरेको थियो भने यस वर्ष ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ । यो कुल खपतको ३० प्रतिशत हो । तर, विद्युत मूल्य भने महँगो पर्न गए पनि उपभोक्तालाई भने विद्युत नौ रुपियाँ युनिटमै बिक्री गर्ने घिसिङले पत्रकार सम्मेलनमा जानकारी दिए । उत्पादनमा कमी आएपछि २८० मेगावट विद्युत भारतको विहारबाट ल्याउँदै आएको भए पनि मङ्गलबारदेखि विहारले विद्युत दिन छाडेको छ ।

हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले अझै ढेड महिना भारतबाट विद्युत आयात गर्नुपर्ने जनाएको छ । जेठ अन्तिमदेखि भने नेपालको कुल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई पाँच सय मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ भने, थप आठ सय मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी प्रक्रिया समेत अघि बढाइसकेको जनाएको छ । विद्युत महँगो हुँदा प्राधिकरणलाई आठ अरब नोक्सान हुने भएको छ ।

 कोइला अभावका कारण पाकिस्तानमा १६ घण्टा, श्रीलङ्कामा सात घण्टा लोडसेडिङको तालिका सार्वजनिक भइसकेको र भारतमा पनि लोडसेडिङको तयारी भएको प्राधिकरणले जनाएको छ । यस हिसाबले हाइड्रोपावरका कारण नेपाल विद्युतमा सुरक्षित देशको रुपमा रहेको पाइएको छ । महङ्गोमा खरिद भएपनि हाल प्राधिकरणले ग्राहकहरुलाई नौ रुपियाँ प्रतियुनिट विद्युत बिक्री गर्दै आएको छ । विद्युत महँगो भए पनि प्राधिकरणले लोडसेडिङभन्दा पनि खपत वृद्धि गर्ने गरी बिहीबार नै उद्योगहरुसँग छलफल सुरु गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत