अमेरिका एमसीसी फिर्ता लैजाऊ, हस्ताक्षर गर्नेलाई जनताले कारवाही गर्नेछन् : वामदेव
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १९:३४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा पूर्व एमाले नेता वामदेव गौतमले अमेरिकी सहायता परियोजना एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गरी उनले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् ।
गौतमले एमसीसी सम्झाैताले नेपालको पराराष्ट्र नीतिमा समेत असर गर्ने दावी गरेका छन् ।
“मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । तर हुन सकेन । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु । यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रकाबीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्नेछ,” विज्ञप्तिमा उल्लेख छ ।
गौतमले एमसीसीमा हस्ताक्षर गर्नेलाई जनताले कारवाही गर्ने समेत चेतावनी दिएका छन् । ‘परियोजनाको मूल दस्तावेज र त्यसका अन्य सहायक दस्तावेजलाई अध्ययन गर्दा इतिहासमा कहिल्यै कसैको उपनिवेश हुन नपरेको शान्तिप्रिय देश नेपाल अब कुनै महाशक्ति राष्ट्रको अधिनस्थ हुनुपर्ने हो कि भन्ने खतरा उत्पन्न गराइएको छ,’ उनको भनाइ छ, ‘यस्तो खतरनाक विषयलाई आँखा चिम्लेर नेपालको संविधानलाई वेवास्ता गर्दै हस्ताक्षर गर्ने व्यक्तिहरुलाई अहिले नसकिए पनि कुनै दिन नेपाली जनताले कारबाही गरेर छोड्ने छन् ।’
एमसीसी सदनमा टेबल गर्नुले यो सकार जनताप्रति इमान्दार नरहेको स्पष्ट हुने उनको भनाइ छ । गौतमले भनेका छन्, ‘यो सम्झौतालाई परिभाषित गर्ने संघीय कानून नबनिरहेको र देशव्यापी रुपमा जनताले विरोध गरिरहेको अवस्थामा संसद्बाट अनुमोदन गराउन प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्नाले पनि यो सरकार नेपाल र नेपाली जनताप्रति इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको छ ।
‘अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनतामै गम्भीर आँच पुग्ने गरी एकीकृत नेपालको उदयदेखि आजसम्म अवलम्बन गर्दै आएको असंलग्न पराराष्ट्र नीतिको समेत धज्जी उडाउने गरी अमेरिकी सहयोगमा नेपालको अभूतपूर्व विकास गर्ने हल्ला मच्चाउँदै एमसीसी परियोजना ल्याइएको छ,’ गौतमको प्रश्न छ, ‘के विकासको नाममा नेपालको राष्ट्रिय प्रतिष्ठा, स्वतन्त्रता, स्वाधिनता र सार्वभौमिकता माथि खेलवाड गर्न पाइन्छ ? सरकारले यसको जवाफ नेपाली जनतालाई स्पष्ट बुझने गरी दिनुपर्छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस