अर्थतन्त्र

मन्त्री शर्माकाे चेतावनी : फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सोमबार सम्बोधन गर्दै संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्न आग्रह गरेका छन् । 

बैंक तथा वित्तीय संस्थाले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकले पनि संकटका बेला बढी नाफामुखी हुन नहुने बताएका छन् ।

उनले भने, ‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन’, । ‘संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुपर्यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’

शर्माले मुलुकको गार्हस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, । ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नको लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताए । लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने भन्दै लकडाउन गर्न नहुने उनले बताए ।

‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ’, उनले भने, ‘अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।’

मन्त्री शर्माले दक्षिण कोरिया लगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको उनले बताए । ती मुलुकमा बैंकले शाखा खोल्न उनले आग्रह गरे । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग बैंक शाखाले सघाउने बताए ।

शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता रहेको बताए । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उनले विशिष्टिकरण गर्नुपर्नेमा जोड समेत दिएका छन् । ‘आफूले आफैँलाई ऋण दिने/लिने देखिएको छ’, उनले भने, ‘यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन् ।’

उनले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि जानकारी दिएका छन् । पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माले बताए । ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइसकेको छैन’, उनले भने, ‘सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’

कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले जनाए ।

शर्माले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउन समेत आग्रह गरे । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उनले त्यसो नगर्न समेत आग्रह गरे । त्यसले गर्दा व्यवसाय असफल हुने उनले बताए ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत