माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन दिउँसाे ३ बजे, ओलीसहित दलका शीर्ष नेतालाई आमन्त्रण
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १०:२१:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आज सुरु हुँदैछ ।
यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा हिजो मात्र महाधिवेशनमा रुपान्तरण गरिएको हो ।
दिउँसो १ बजे उद्घाटन हुने भनिएकोमा २ घण्टा पछि सारिएको हो ।
शनिवार बसेको स्थायी कमिटीबाट प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको थियो। सो निर्णयलाई अनुमोदन गर्न अहिले माओवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।
महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो ।
अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफै फोन गरेर पार्टीको आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा निम्ता गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएकोमा प्रचण्डले ओलीलाई आफै फोन गरेर निम्ता दिएका हुन् ।
प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।
उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ ।
महाधिवेशनमा रुपान्तरणपछि आवश्यक तयारी गर्न उदघाटन सत्र दुई घण्टा पछाडि सरेको बताइएको छ ।
महाधिवेशनबाट अध्यक्ष बाहेकका पदाधिकारी चयन नगर्ने सम्भावना छ । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले जानकारी दिएका छन्। नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौँ आइसकेका छन् ।
पदका लागि कुदाकुद नहुने सार्वजनिक अभिव्यक्ति दिए पनि पदाधिकारीमा नेताहरु आकांक्षी बढी हुँदा त्यसको व्यवस्थापनमा अध्यक्ष प्रचण्डलाई चुनौती थपिएको छ । यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी प्रचण्डले गरेका छन् ।
प्रचण्डलाई चुनौती दिने नेतृत्व माओवादीमा तयार नभएकाले उनले चाहे अनुरुप हुनेमा शंका छैन ।
महाधिवेशन नेतृत्व चयनभन्दा पनि विचारको बहसमा केन्द्रीत हुने बताइएको छ । बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ भने ८–९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ ।
माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।
प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ।
अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या एक हजार ६३१ जना पुग्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस