गाउँ सहर

महाधिवेशन निर्धारित समयमा हुन्छ : कांग्रेसको निर्वाचन समिति

काठमाडाैं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका वडा अधिवेशन हुन बाँकी जिल्लाहरुमा धमाधम अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ । वडा अधिवेशन हुन बाँकी दुई जिल्ला पर्सा र सर्लाहीमा आज अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जनाएका छन् । 

अन्य सबै जिल्ला लगाएत पालिका अधिवेशनसम्म सम्पन्न भए पनि प्रदेश २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन भएको थिएन । यही सातामा कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँके तथा प्रदेश २ का बारा, पर्सा, सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा वडा अधिवेशन भइरहेको हो ।

अब वडा अधिवेशनको प्रक्रिया सुरु हुन कुनै पनि जिल्ला बाँकी नरहेको सदस्य घिमिरेले जानकारी दिएका छन् ।

‘सबै जिल्लामा वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ, प्रक्रिया सुरु हुन बाँकी कुनै जिल्ला छैन,’ सदस्य घिमिरेले भने । रौतहट जिल्लाको एउटा वडा र सिन्धुपाल्चोकका तीन वडामा विवादका कारण वडा अधिवेशन हुन सक्ने अवस्था हुन नसकिरहेको उनले बताए ।

घिमिरेका अनुसार आज पर्सा, बारा, सर्लाहीमा अधिवेशन भइरहेको छ । सर्लाहीमा पहिलो पटक पठाइएका निर्वाचन अधिकृत भागेपछि नयाँ अधिकृत पठाइएको थियो । नयाँ अधिकृत गएर पनि आज अधिवेशन गरिरहेका छन् ।

सिन्धुपाल्चोकमा भने पालिका अधिवेशन हुने अवस्था नदेखिएको निर्वाचन समितिले जनाएको छ । जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामाबीचको विवादका कारण त्यहाँ पालिका अधिवेशन हुने अवस्था निर्माण गर्न कठिनाइ भइरहेको समितिले जानकारी दिएकाे छ ।

अब भने तोकिएको मितिमा महाधिवेशन हुने निश्चित भएको भन्न सकिने निर्वाचन समितिका सदस्य घिमिरेले बताएका छन् । ‘अहिलेको अधिवेशनको सक्रियता र जिल्ला जिल्लाको माहोल हेर्दा अहिले तोकिएको मितिमा महाधिवेशन हुने अवस्था निर्माण भएको छ । अब हामी महाधिवेशन तोकिएकै मितिमा हुन्छ भन्न सक्ने अवस्थामा पुगेका छौँ,’ सदस्य घिमिरेले बताए ।

 कांग्रेसले मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन र १६ र १७ गते प्रदेश अधिवेशनको मिति निर्धारण गरेको छ ।

कांग्रेसले  मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशनको मिति निर्धारण गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत