विशेष

दशैंकाे छेकमा तिम्बुङ्ग पोखरी यात्रा २०७८ (शब्द/तस्बिर)

झापा । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको हिमश्रृंखलामा अवस्थित आकर्षक रमणीय स्थान तिम्बुङ्ग पोखरी ।

तिम्बु पोखरी पूर्वको गोसाइँकुण्ड नामले पनि परिचित छ । जिल्लाको सुदुर दक्षिणपूर्वमा पर्ने, पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बु पोखरी जिल्लाको सवैभन्दा महत्त्वपूर्ण पर्यटकीय स्थल हो ।

पाँचथर जिल्ला सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा फलैचा र ताप्लेजुङ्ग जिल्लाको कालीखोला गाविसको अति नै दुर्गम तथा विकट भौगोलिक स्थानमा रहेको तिम्बु पोखरी समुन्द्री सतह देखि करिब ४,२३८ मिटरको उचाइमा छ । यो पोखरीको लम्बाइ करिब ४०० मिटर र चौडाइ २०० मिटर भएपनि गहिराइ भने अहिलेसम्म पत्ता लागेको छैन ।

वर्षभरिमा आठ महिना सम्म हिँउले ढाक्ने भएपनि जेष्ठ देखि भाद्र महिना सम्म मात्र हिउँ पग्लने गर्छ । यस पोखरीका आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हाँस पोखरी, मयुरपोखरी, नीरपोखरी लगायतका अठारवटा पोखरी छन् । यसै क्षेत्रमा कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्डहरू माला जस्तै आकारमा रहेकाले यस स्थानलाई पूर्वको गोसाइँकुण्ड भन्ने गरिएको पाइन्छ ।

यहाँको प्राकृतिक सुन्दरता र दृष्यहरू पशु, पंक्षी, रंगीचंगी फूलहरू अनि अनेकौँ जडीबुटी देख्दा यहाँ पुग्ने जो कोहीलाई पनि स्वर्गमा पुगेको आभास हुन्छ ।

तिम्बु पोखरीबाट निस्केको मूलपानीबाट विशाल इवा नदीको उत्पति भएको छ । यो पोखरीको विशेषता के छ भने यहाँको पानी अतिनै सङ्गलो र पारदर्शी छ त्यसैले त्यति गहिरो पोखरीमा तीर्थयात्रीहरूले चढाएको पैसा र अन्य वस्तुहरू पोखरीका पीधमा विस्कुन सुकाए झैं स्पष्ट देखिन्छन् ।

पोखरीको सतहमा छिनछिनमा कुहिरोले ढाक्ने र उघ्रने क्रम दोहाेरिरहन्छ । (केवल सापकाेटा सम्पूर्ण तस्बिरहरू)

तपाईँको मत