राजनीति

काे काे बन्दैछन् नयाँ मन्त्री, कसकाे भागमा कति मन्त्रालय ?

तस्बिरः राेशन सापकाेटा रासस ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । बिहान ११ बजेभित्र मन्त्री हुनेहरुको नाम बुझाउन सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई आग्रह गरिएको छ ।

आज विस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्नेहरुको नाम सत्ता साझेदार सबै दलहरुले लगभग तयार गरिसकेका छन् । प्रधानमन्त्री देउवाको पार्टीभित्र केही विमती रहे पनि अरु दलहरुले अन्तिम नामावली तयार गरिसकेका छन् ।

माओवादी केन्द्रले मन्त्री बन्ने नेताहरुको नाम नै सार्वजनिक गरिसकेको छ । मात्र ती नेताहरुले कुनकुन मन्त्रालय सम्हाल्ने छन् भन्ने निर्णय हुन बाँकी छ ।

अब विस्तार हुने मन्त्रिपरिषद्अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीले समान ४–४ मन्त्रालय पाउने छन् । त्यस्तै कांग्रेस २ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीले एकएक राज्यमन्त्रीसमेत पाउने भएका छन् ।

अहिले प्रधानमन्त्री देउवासहित कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् । कांग्रेसबाट प्रधानमन्त्रीसहित पाँचजना मन्त्री भइसकेकाले बाँकी ३ मन्त्रालयमा कांग्रेसको तर्फबाट मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, पुष्पा भुसालकाे हुने सम्भावना बढी रहेकाे देखिएकाे छ ।

कांग्रेसले स्वास्थ्य छाडेर सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय लिने भएकाे छ ।

माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । देउवा सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल पहिले नै नियुक्त भइसकेका छन् । माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ ।

एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का गरिसके भएपनि मेटमणि चाैधरी, जीवनराम श्रेष्ठ र भवानी खापुङ पनि मन्त्रीको नाम चुलिएकाे छ । 

जनता समाजवादीले राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्रकुमार सिंह, मोहम्मद इस्तियाक राई, रेणु यादव मन्त्रीकाे लाइनमा छन् । जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत