दिगोविकास

मानुषी बल्ल सूचीकृत, साेमबारबाट काराेबार

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार सूचीकृत भएको छ । 

सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको एक महीनापछि बल्ल कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्कासन गरेको शेयर गत भदौ ७ गते बाँडफाँट गरेको थियो ।

कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. १३२ दशमलव ६९ देखि ३९८ दशमलव शून्य ७ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र ७ लाख कित्ता  संस्थापकको गरेर कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत गराएको हो ।

आइतवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सुचीकरण सम्झौता सम्पन्न भएकाले सोमवारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

गाउँ सहर संवाददाता