राजनीति

वडादेखि केन्द्रसम्म माओवादीकाे दुई लाख ८५ हजार पदहरुमा निर्वाचनबाट नेतृत्व चयन हुने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । 

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने जानकारी दिए । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ । 

अध्यक्ष प्रचण्ड र नेता पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए । 

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए । बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच-पाँच जना सहभागी रहेको नेता पुनले जानकारी दिए । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधि र पद्धतिसम्मत रुपमा पार्टी सञ्चालन गरिने बताए । अबदेखि पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत चुनिने भन्दै उनले निर्वाचन आयोगको जानकारी र उपस्थितिबिना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने स्पष्ट गरे । ‘विधिसम्मत निर्वाचन सम्पन्न भएर आयोगले प्रमाणपत्र दिएर प्रमाणित नभएसम्म त्यसले आधिकारिकता पाउँने छैन’, उनले भने । 

कार्यक्रममा नेता पुनले व्यक्तिगत महत्वाकांक्षा र स्वार्थका लागि पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गरे । पुनले प्रचण्डको वरिपरि गोलबन्द भएर क्रान्तिकारी पार्टी निर्माणमा जुट्न नेता कार्यकर्तालाई अपिल गरे । 

गाउँ सहर संवाददाता

तपाईँको मत