निर्माण

पुनर्निर्मित नमूना मच्छिन्द्र मावि उद्घाटन गर्दै प्रम देउवाले भने - भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षामा ध्यान

ललितपुर । प्रधानमन्त्री शेरबहादर देउवाले भूकम्पपछिको पुनर्निर्माणका क्रममा विद्यालयहरुको भौतिक सुधारपश्चात गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बेला आएको बताएका छन् ।

ललितपुरको लगनखेलस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्मित नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोमा जोड दिए ।

‘भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ६ हजार ६४४ विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ । अब गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने विश्वास लिएको छु”, प्रधानमन्त्री देउवाले भने ।  

प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि गर्न सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र भविष्यमा थप कार्यक्रमहरु ल्याउने जानकारी पनि दिए ।

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विपत्तिले अवसर पनि ल्याउने उल्लेख गर्दै जीर्ण भएका ललितपुरका दर्जनौं विद्यालय भवनहरुको पुनर्निर्माण भएकोमा खुशी व्यक्त गरिन भने शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिन सुझाव पनि दिइन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्पप्रतिरोधी तथा सुविधासम्पन्न विद्यालय निर्माण भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा भूकम्प प्रतिरोधी प्रविधि जनतासम्म पुगेको बताए । ज्ञवालीले पुनर्निर्माणका मूलभूत कामहरु सम्पन्न भएको, केही कामहरु आजैबाट सम्बन्धित निकायमा हस्तान्तरण हुने जानकारी पनि गराएका थिए ।

उक्त पुनर्निर्मित विद्यालयमा १८ वटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्ष लगायत छन् । जापान सरकारको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले उक्त विद्यालयको पुनर्निर्माण गरेको हो । विद्यालयको लागत रकम भ्याट बाहेक १२ करोड ३० लाख रुपैयाँ छ ।  

२००८ सालमा स्थापना भएको विद्यालयमा हाल ९७२ छात्र तथा ५२२ छात्रा अध्ययन गरिरहेका छन् । त्यसैगरी, दृष्टिविहीन २० छात्रा तथा १७ छात्रका लागि आवास सहित अध्ययनको सुविधा छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलगायतको उपस्थिति थियो ।

=================================================

पुनर्निर्माणका बाँकी कार्यहरु हस्तान्तरण सुरु

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायतका संचनाहरुको पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित निकायमा हस्तान्तरण सुरु भएको छ ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको कार्य हस्तान्तरण गरिएको हो ।

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी कार्यहरु शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।

यसका साथै, सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्चालित सम्पदा एवं गुम्बाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु पनि उक्त विभागलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्याम किशोर सिंहले उक्त बाँकी कार्यहरु शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरेका छन् ।

यसका साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकास तर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापन सहितका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु पनि शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक नारायण प्रसाद श्रेष्ठले उक्त कार्यहरु शहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरे । पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका तोकिएका जिल्ला स्थित कार्यालयहरुमा हस्तान्तरण गरिएको छ ।

यी बाँकी रहेका कार्यहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरे ।

त्यसैगरी, सडक तथा पुलहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ । अब यो विभागले गुम्वा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्वाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु पनि गर्नेछ ।

उल्लेखित बाँकी कार्यहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टालाई हस्तान्तरण गरे ।

पुनर्निर्माण गर्न बाँकी रहेका कार्य सहित सम्बन्धित केन्द्रीय एवं जिल्ला आयोजना कार्यान्वयन इकाईहरु अन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजू विवरण एवं कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् ।

हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरुले तत्कालै पुनर्निर्माणका कार्यहरु संचालन गर्नेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका ५ वर्ष ८ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कूल संरचनाहरुमध्ये मूलभूत रुपमा प्रायः सम्पूर्ण कार्यहरु सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए ।

ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी मंसिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माण सम्बन्धी मार्गचित्र सहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले हस्तान्तरण भएर आएका कार्यहरु तोकिएको समयभित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।

यही भाद्र ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २० औँ बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु हस्तान्तरण भएपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारको पुनर्निर्माणको कार्य हेर्नेछ । साथै, लेखा परीक्षणका अतिरिक्त हस्तान्तरण गर्ने कामहरुको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका कामहरु पनि सम्पादन गर्नेछ ।

पुनर्निर्माणको प्रगति (२०७८ असार ३१)
पुनर्निर्माण लाभग्राही
अनुदान सम्झौता गरेका लाभग्राहीः ८,२९,६६७
पहिलो किस्ता लिएका लाभग्राहीः ८,२८,७६३ (९९.८९ प्रतिशत, अनुदान सम्झौताका आधारमा)
दोस्रो किस्ता लिएका लाभग्राहीः ७,५०,४५९ (९०.४५ प्रतिशत)
तेस्रो किस्ता लिएका लाभग्राहीः ७,०३,३०७ (८४.७७ प्रतिशत)

विद्यालय भवन
लक्ष्य – ७५५३
पुनर्निर्माण सम्पन्न – ६,६४७ (८७.६६ प्रतिशत)
पुनर्निर्माण जारी – ९३६ (१२.३४ प्रतिशत)

स्वास्थ्य संस्थाका भवन
लक्ष्य – ११९७
पुनर्निर्माण सम्पन्न – ७५१ (६४.५२ प्रतिशत)
पुनर्निर्माण जारी –  ३५४ (३०.४१ प्रतिशत)

साँस्कृतिक सम्पदा
लक्ष्य – ९२०
पुनर्निर्माण सम्पन्न – ५८६ (६३.७० प्रतिशत)
पुनर्निर्माण जारी – १९५ (२१.२० प्रतिशत)

सरकारी भवन
लक्ष्य – ४१५
पुनर्निर्माण सम्पन्न – ३८८ (९३.७२ प्रतिशत)
पुनर्निर्माण जारी –  २० (४.८३ प्रतिशत)

सुरक्षा निकायका भवन
लक्ष्य – २१६
पुनर्निर्माण सम्पन्न – २१६ (१०० प्रतिशत) ।

गाउँ सहर संवाददाता

तपाईँको मत