गाउँ सहर

कृष्णको जीवनबाट मानव समुदायले के सिक्ने ?

काठमाडौं । सामान्य अवस्था हुन्थ्याे भने आज कृष्ण मन्दिरहरूमा  पूजा–आराधनाका लागि भीडभाड हुन्थ्याे । तर काेराेना भाइरसका कारण अहिले मठ मन्दिरमा भीडभाड र मेला गर्न बन्देज गरिएकाे छ । 

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको भएपनि यसपटक बिदा दिइएकाे छ ।

कृष्ण परिचय

किंवदन्ती अनुसार देवकी र वासुदेवका आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी, १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्ती लोकमा रहेका थिए ।[६] कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए ।

मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको भाई राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफुले राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डाराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौ सन्तानको हातबाट हुने थियो । कंशले सुरूका छ वटा बच्चालाई मारेपछी देवकीले सातौ बच्चालाई गायब गरेकी थिइन् । (असलमा देवकीले गोप्य रूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थिए ।) आठौ सन्तानको रूपमा कृष्णको जन्म भयो ।

जन्म भए सँगै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुगाउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना पारी सकुशल गोकुल पुगाए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नादिकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भईन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भईन ।

कृष्ण गोकुलमै आफ्ना दाई बलरामसँग हुर्केका थिए । पछी मथुरा फर्के र कंशको संहार गरे ।बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ विश्वका धेरै भाषामा अनुवाद भइसकेको छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।

मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू 'कृष्णलिला' को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र ।

भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ ।

श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः
"यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत |
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् ||"

अर्थात्ः
"जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर अाउनेछुँ ।"

महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ काैरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुवा) सम्मिलित विरूद्धको लडाईँ, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनाेवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर "काम कहिले पनि सानो ठुलो हुँदैन" भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः

"हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।" 

कृष्णको जीवनबाट के सिक्ने

साँचो माया : वृंदावनमा राधाजस्ता धेरै गोपिनी थिए जो कृष्णलाई अत्यन्त माया गर्थे । कृष्णले ति सबैलाई साथीको रूपमा हेरे र सम्मान गरे तर राधाप्रति उनकाे सधैँ अटल प्रेम रह्यो । आजका प्रेमीप्रेमिकाले उनीबाट साँचो प्रम सिक्न सकिन्छ ।

गुरूप्रति आदर: भगवान विष्णुकै अवतार भएर पनि कृष्णले सधैँ आफ्ना गुरुलाई धेरै सम्मान गरे । जीवनभर भेटिएका सबै संत/ गुरूहरूलाई उनले गरेको सम्मान बाट मानिसले अहंकार त्याग्न सक्नुपर्ने कुरा सिक्न सकिन्छ ।

आमा बुबाको भक्ति : कृष्ण देवकी र वासुदेव के पुत्र भएपनि उनका पालन-पोषण यशोदा र नन्दले गरेका थिए। कृष्णले आफ्ना आमाहरु देवकी- यशोदा दुबैलाई एउतै स्थान दिए ।बुबाआमाको स्थान सबैभन्दा उँचो रहेको उनले व्यवहारबाट सिद्ध गरे ।

मित्रता : भगवान श्रीकृष्ण र सुदामाको मित्रता कथा नै बनिसकेको छ । मित्रताको अगाडी ऊंच-नीच, धनी गरीव, सानो ठूलो भन्ने हुदैन भन्दै निस्वार्थ मित्रता गर्न कृष्णले सिकाएका छन् ।

मोह्त्याग :कृष्णले गरेको व्यवहार र दिएको उपदेशको मर्म भनेको आफ्नो मोहलाई त्यागेर राम्रो र नराम्रो छुट्याई राम्रोका साथ दिने भन्ने नै हो ।

संघर्ष : गोकुलमा उनको जीवन सधै संघर्षले भरिएको थियो तर उनी कत्ति पनि बिचलित भएनन् र सफलता प्राप्त गरेरै छोडे ।

भगवान श्रीकृष्णले मानवजातिलाई सिकाएको सबैभन्दा ठूलो कुरा प्रेम हो । तिमीले प्रेम गर । प्रेम जहाँ छ, त्यहाँ समाज बन्छ । अहिलेको समाजलाई प्रेमको खाँचो छ । अहिलेको युवालाई प्रेमको खाँचो छ । अहिलेको युवतीलाई प्रेमको खाँचो छ । जुन मानिसको भित्र यो प्रेमले प्रवेश गर्‍यो, सारा संसार उसैको हुन्छ । समाजमा सकारात्मक सोच आउँछ भने प्रेमले आउँछ । नत्र भने आउँदैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत