गाउँ सहर

चैत महिनासम्ममा मेलम्चीको पानी काठमाडौं उपत्यकामा

काठमाडाैं । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । 

मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको  समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो ।

गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने, ‘अहिले हेडवर्क १०/१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।’

चैतमा काठमाडौंमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले जनाएको छ । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ । 

अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए ।

‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ । त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताए ।

उनले भने, ‘साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसले समय लाग्नसक्ने देखिएको छ ।’

हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ ।

पछिल्लो बाढीले गर्दा यहाँ रहेका सडक बगाएको छ भने अरू संरचनामा कति क्षति पुग्यो भन्ने थाहा नभएको सूचना अधिकारी पन्तले बताए ।

उनले भने, ‘पहिलो बाढीपछि नै परामर्शदाता कम्पनीले त्यहाँ पुगेको क्षति र मर्मतका बारेमा अध्ययन गरिरहेको छ ।’

बाढीका कारण सबभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ ।

अहिले सडक रहेकै स्थानमा पुनर्निर्माण गर्ने कि नयाँ रेखाङ्कनमा गर्ने भनी छलफल भइरहेको सूचना अधिकारी पन्तले बताए।सडक र पुलको विज्ञ जनशक्ति सडक विभागसँग भएकाले ऊसँगको सहकार्यमा यसमा निर्णय लिइने सूचना अधिकारी पन्तले बताए ।

अहिले भएको सडकको विकल्पमा अर्काे ठाउँबाट वैकल्पिक सडक खुलाउने काम दीर्घकालीनरूपमा गरिनुपर्ने भए पनि तत्कालका लागि भइरहेको सडकमा स्तरोन्नति अघि बढाइएको उनले बताए ।

अहिले डोजरमात्रै लैजान सकिने बाटो बनाउने प्रयास भइरहेको छ ।

‘यहाँका सडकको स्तरोन्नति र मोड फराकिलो बनाइरहेको छ’, उनले भने, ‘हेलम्बु गाउँपालिकाले सडक खुलाउने काम गरिरहेको छ ।’

सडकमा कति क्षति पुग्यो र मर्मतका लागि कति समय लाग्छ भनी विस्तृतरूपमा मूल्यांकन गरिनेछ ।

सडक पहिलेको रेखांकनभन्दा माथिबाट लैजाँदा सुरक्षित हुनसक्ने उनले बताए ।

‘भविष्यमा पुग्न सक्ने क्षतिको आकलन गरेर पुलहरू नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ’, उनले भने, ‘त्यसले गर्दा पहिले भएको क्षतिभन्दा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको छ ।’ 

आयोजनाले हालसम्म रु दुई अर्ब क्षति भएको अनुमान गरिएको छ ।

मर्मत र पुनर्निर्माण गर्दा त्यो रकम बढ्नसक्ने सूचना अधिकारी पन्तले बताए । हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उनको भनाइ छ ।

निर्माणस्थलमा रहेका संरचना पुनःनिर्माणमा समय र लागत दुबै बढी लाग्ने देखिएको छ ।

साउन महिनाको बाढीले सडकमा थप क्षति पुगेपछि आयोजनास्थलमा रहेका संरचनामा भने पहिलो बाढीले गराएको क्षति जति हो त्योभन्दा बढी भएको नपाइएको सूचना अधिकारी पन्तले बताए ।

आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका मर्मतको योजना बनाइएको छ ।

दीर्घकालीन मर्मत सुरू गर्नु पहिले आयोजनास्थलभन्दा माथिल्लो भागमा पहिराको समाधान गरिनुपर्छ भन्ने छलफल भइरहेको छ ।

सम्बन्धित निकायले त्यसमा विस्तृत अध्ययन गर्नुपर्नेमा उनको जोड छ ।

अध्ययन सकिएर निष्कर्षका आधारमा अरू पूूर्वाधारको डिजाइन गर्ने, पुनरावलोकन गर्ने, स्थानान्तरण वा नयाँ बनाउने के गर्न सकिन्छ भनी निर्णय लिइने भएको छ ।

उनले भने, ‘माथिल्लो भागमा पहिराको रोकथाम नियन्त्रणका लागि एकीकृत कार्यक्रम बनाएर जानुपर्छ ।’

अल्पकालीनरूपमा आयोजनाबाट पानी ल्याउनका लागि वैकल्पिक पथान्तरण सफा गर्ने, अम्बाथान अडिट सफा गर्ने योजना बनाइएको छ । हालका लागि सानो एउटा वैकल्पिक ड्याम बनाएर पानी ल्याउन लागिएको छ। अल्पकालीन कार्ययोजनामा चुनौती भनेको नदीको स्तर पुरानै स्तरमा बनाउनु रहेको छ । 

उनले भने, ‘त्यसमा अलि बढी समय लाग्नसक्छ ।’

गत असारसम्म चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क’ मा निर्माण गरिरहेको थियो ।

ठेक्का सम्झौताका आधारमा कम्पनीले गर्ने दायित्व पूरा गर्नुपर्ने छ। अरू संरचनामा क्षति पुगे पनि मुख्य सुरूङमा क्षति नभएको अनुमान छ । अम्बाथान अडिट, डाइभर्सन टनेललगायतका संरचना टालिएको मात्र हो क्षति छैन भन्ने प्रारम्भिक अनुमान छ । 

क्षतिको मूल्यांकन गरेर अहिले निर्माणको काम गरिरहेको कम्पनीलाई नै काममा लगाइने सूचना अधिकारी पन्तले बताए । अल्पकालीन कार्ययोजनामा व्यवसायीले गर्नुपर्ने काम धेरै छैन ।

उनले भने, ‘सडक खुलाउन र आयोजनास्थलका संरचनाको लेदो हटाउन सेना र सडक विभागले नै गर्नुपर्छ, व्यवसायीले त्यसपछि थप काम गर्नुपर्छ ।’

हेडवर्कमा माथिसम्म टालिएकामा दीर्घकालीनरूपमा सफा गरेर हेरेपछि के–के क्षति भएको हो त्यसको मर्मत र सुधारको काम सिनो हाइड्रोले गर्नेछ ।

ट्रयाक खोलेर वैकल्पिकरूपमा हेडवर्क पुग्न काम अघि बढाइएको छ। एक/डेढ महिनामा हेडवर्क पुग्न सकिने सूचना अधिकारी पन्तले बताए ।

उनले भने, ‘हेडवर्क पुगेपछि नै टालिएका संरचना सफा गर्न सुरू हुनेछ ।’ 

अहिले तत्काल सडकको ‘एलाइमेन्ट’ परिवर्तन गर्न नसकिने भए पनि दीर्घकालीनरूपमा परिवर्तन गरेर निर्माण गर्नुपर्ने देखिएको छ ।

दीर्घकालीनरूपमा सडकका लागि पुनः डिजाइन गर्नुपर्ने समितिले जनाएको छ । झण्डै दुई दशक पहिले निर्माण सुरू भएको आयोजना गत फागुनमा सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी आउन थालेको थियो ।

आयोजनाको मुख्य संरचनाका रूपमा रहेको सुरूङको निर्माण सकिएपछि अस्थायी बाँधबाट पानी ल्याउन थालिएको थियो । आयोजनाको ‘हेडवर्क’ निर्माणको अन्तिम काम भइरहँदा आएको बाढीले धेरै क्षति पुर्‍याएको छ ।

राष्ट्रिय गौरवको सो आयोजना काठमाडौं उपत्यकामा रहको खानेपानीको समस्या समाधानको दीर्घकालीन उपायका रूपमा रहेको छ । रासस

गाउँ सहर संवाददाता

तपाईँको मत