गाउँ सहर

पर्यटन पुनर्जीवनको लागि मजदुरको अभाव हुने खतरा रहेको मन्त्री शर्मालाई व्यवसायीको गुनासो

पोखरा । पर्यटन पुनर्जीवनको लागि मजदुरको अभाव हुने खतरा रहेको पोखराका पश्चिमाञ्चल होटल संघमा आवद्ध व्यवसायीले गण्डकीका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मालाई गुनासो गरेका छन् ।  

पर्यटन, होटल, रेष्टुरेन्ट क्षेत्रमा कार्यरत मजदुरले रोजगारी गुमाउनु पर्दा उनीहरु पलायन भएको र आगामी दिनमा व्यवसाय सञ्चालनमा मजदुरहरुको अभाव हुने खतरानाक अवस्था सिर्जना भएको होटल संघका पूर्व अध्यक्ष गोविन्द राज पहारीले बताए । ६५ प्रतिशत मजदुरहरु पलायन भएकाले अब नयाँ मजदुरलाई आवश्यकता अनुसारको तालिम सञ्चालन गर्नु पर्नेमा व्यवसायीहरुले जोड दिएका छन ।

पर्यटन मन्त्री  शर्माले प्रदेश भित्र रहेका उद्यम व्यवसाय र पर्यटन क्षेत्रमा कोभिडले पु¥याएको क्षती र व्यवसाय पुनर्जीवनको लागि अध्ययन अनुसन्धानको विज्ञ टोली बनाएर आवश्यक नीति बनाउने बताए ।

अन्तरक्रिया गर्दै मन्त्री शर्माले पहिलो प्राथमिकतामा व्यवसायी र मजदुरलाई खोप लगाउने काम सुरु भईसकेको बताए ।

मन्त्री शर्माले भने ‘आफूले कार्यभार समालेकै दिनबाट व्यवसायी र मजदुरलाई अनिवार्य खोपको लागि लागिरहेको छु ।’ पोखरालाई सुरक्षित पर्यटन गन्तव्य बनाउनको लागि अध्ययन अनुसन्धान गरेर व्यवसायलाई विगतको अवस्थामा ल्याउनको लागि के गर्न सकिन्छ भन्ने बारेमा वैज्ञानिक र व्यवहारिक कार्यनीति बनाउन व्यवसायीलाई सहयोगको लागि उनले अनुरोध गरे ।

सरकारलाई धेरै कर तिर्ने पर्यटन तथा होटल व्यवसायलाई फ्रन्टलाईनमा नराखेकोले खोप लगायतका सबै खाले सुविधाबाट वञ्चित हुनु परेको व्यवसायीले बताए । उनीहरुले साना तथा मझौला होटलहरु र होटल सञ्चालकहरुको व्यक्तिगत नाममा दर्ता भएका विद्युत र पानीको शुल्कमा सहुलियत, उत्पादन मुलक उद्योग सरहको सुविधा, पर्यटन यातायात र व्यवसाय दर्ता तथा नविकरण शुल्कका सम्बन्धमा दुविधाहरु स्पष्ट पार्नु पर्ने,  जीवन रक्षा कोषलाई प्रभावकारी कार्यन्वयन, पर्यटन बोर्ड र कार्यालयलाई प्रविधियुक्त बनाउनु पर्ने, कर्मचारीलाई १० दिने काज बिदा, विदेशी लाई फ्री भिजालाई तत्काल कार्यन्वयनमा ल्याउन संघीय सरकारसँग समन्वय, होटल तथा पर्यटन क्षेत्रका श्रमिकहरुलाई सहुलियत कर्जाको व्यवस्था, नयाँ कर्मचारीलाई तालिम, महानगर भित्र रहेका अनाधिकृत अपाटमेन्टहरुलाई खारेज, प्रदेश भित्र रहेका विमानस्थलहरुलाई व्यवस्थापन र सञ्चालन, तारे होटल तथा रिसोर्टहरुको दर्ता नविकरण प्रदेशस्तरमै गर्नु पर्ने लगायतका मागहरु राखेका छन् ।

व्यवसायीहरुसँगको छलफलमा मन्त्री शर्माले पोखरामा निर्माणधिन अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र त्यससँग जोडिएका संरचनाहरुको विकासमा सरोकारवाला निकायसँग समन्वय गर्ने र होमस्टेको प्रभावकारी रुपमा अनुगमन गर्ने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत