गठबन्धन सरकारलाई मन्त्रिपरिषद् विस्तारमा सकस, छलफलमै बित्छ दिन
- गाउँ सहर संवाददाता
- १७ श्रावण आइतबार, २०७८ | १४:०७:०० मा प्रकाशित

काठमाडाैं । सरकार गठन भएको २० औं दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकाे छैन । गत असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयाे तर पूर्णरूपमा मन्त्रिमण्डल बिस्तार हुन सकेकाे छैन ।
संविधान जोगाउन सफल भएको निष्कर्षमा पुगेको ५ दलीय गठबन्धन ३ सातासम्म सरकार विस्तार गर्न भने असफल देखिएको छ ।
सरकारको नेतृत्व गरेको कांग्रेसको हालत उस्तै छ । आफ्नै शपथको दिन प्रधानमन्त्री देउवाले कांग्रेसका बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रीमा नियुक्त गरेका थिए ।
सोही दिन माओवादीका जनार्दन शर्माले अर्थ र पम्फा भूसालले ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका थिए । गत साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीको रुपमा शपथ गराए ।
दिनहुँ सत्ता गठबन्धनकारी दलहरू द्विपक्षीय र आन्तरिक छलफलमा व्यस्त भएका छन् तर मन्त्रालयको टुंगो लगाउन सकस छ ।
गठबन्धनका दल आ–आफ्नै समस्यामा अल्झिदा प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तारमा समेत सफल हुन सकेका छैनन् । प्रधानमन्त्रीलाई समर्थन दिएर सरकार निर्माणमा निर्णायक भूमिका खेलेको नेकपा (एमाले)को माधव नेपाल समूह सरकारमा जाने/नजाने औपचारिक निर्णय नै हुन सकेको छैन ।
नेकपा (माओवादी केन्द्र)को यही साउन आजका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारिकता विवाद टुंग्याएर मात्र सरकारमा जाने जनाएको थियो । आधिकारिकताको विषय टुंग्याएर उसले पार्टी संसदीय दलको नेता चयनको कामसमेत गरिसकेको छ । तर, औपचारिक रुपमा मन्त्री छान्ने र सरकारमा को–को जाने भन्ने विषय टुंग्याउन सकेको छैन ।
विषेशगरी एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा ल्याउने कसरतका कारण मन्त्रिपरिषद् विस्तारमा केही विलम्ब भएको हो । मन्त्रालयको भागबण्डा र न्यूनतम साझा कार्यक्रम तय गर्न पनि बाँकी छ ।
राजनीतिक दलहरूभित्र मन्त्री हुने आकांक्षीको संख्या पनि अध्यधिक छ । त्यसैले कसलाई मन्त्री बनाउने भन्ने निर्णय गर्न सबै पार्टीको शीर्ष नेतृत्वलाई सकस परिरहेको छ । गठबन्धनको बैठक बस्न लागे पनि आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना भने न्यून छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मन्त्री बन्न खोज्ने सांसदहरूका कारण आफू तनावमा रहेको सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस