पाँचाैँ पटक प्रधानमन्त्री भएका देउवाकाे बारेमा थाहा पाउनुहाेस्
- गाउँ सहर संवाददाता
- २९ असार मंगलबार, २०७८ | २१:१७:०० मा प्रकाशित
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचाैँपटक प्रधानमन्त्रीकाे सपथ लिएका छन् ।
देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
सर्वोच्च अदालतले हिजो (सोमबार) संसद् पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
को हुन् देउवा?
वि.सं. २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असीग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा जन्मिएका हुन् शेरबहादुर देउवा । उनले प्राथमिक शिक्षा गाउँकै असिग्राम प्राथमिक विद्यालय र एलएसली सीताराम मावि डोटीबाट पूरा गरेका हुन् ।
देउवा २०२० सालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय भएका थिए। उनी बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेका हुन् । एसएलसीपछि देउवा उच्च शिक्षा लिन भारत नगई ०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएका थिए । त्यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय भए । यसक्रममा उनी विभिन्न समयमा पटक-पटक पक्राउ परे । विद्यार्थी जीवनमा देउवा निडर र निर्भीक स्वभावका थिए ।
नेविसंघमा सक्रिय भएर काम गरिरहेका देउवा वि.सं. २०२८ सालमा पहिलोपटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए । नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिलाई झन् सशक्त रूपमा अगाडि बढाए । राजनीतिका सिलसिलामा देउवाले पटक–पटक गरी करिब ९ वर्ष जेलजीवन बिताएका छन् ।
विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाए । त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला र बैतडी हुँदै डडेल्धुरा पुगेका थिए ।
जब ०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनआन्दोलन अगुवाइ गर्यो, त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए । जनआन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं आए ।
०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने । गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने ।
राजनीतिको धेरै उतारचढाव खेपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले कृष्णप्रसाद भट्टराई (किसुनजी) र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाएका थिए ।
देउवा २७ भदौ २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । कोइरालाले अघि बढाएका देउवाले पार्टीको १०औँ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए । ०५७ मा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापति पदमा उम्मेदवारी दिएका थिए, तर उनी पराजित भए ।
पहिलोपटक प्रधानमन्त्री बनेको ६ वर्षपछि ०५८ साउन ११ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । दोस्रो पटक प्रधानमन्त्री बनेपछि भने देउवाको जीवनमा धेरै उतारचढाव आएका छन् ।
माओवादी सशस्त्र द्वन्द्व (जनयुद्ध) उत्कर्षमा पुगेका बेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ०५९ जेठ १९ मा प्रधानमन्त्री भएकै बेला देउवालाई साधारण सदस्यताबाट समेत निकालिदिए ।
कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेको थियो । जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ०५८ असारमा राजीनामा दिएका थिए ।
यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुनः कांग्रेस संसदीय दलको नेताका उम्मेदवार बन्ने मौका पाए । उनी सुशील कोइरालालाई हराएर नेता बनेका थिए। संसद्मा पार्टीको बहुमत भएकाले उनी दोस्रोपटक प्रधानमन्त्री बने ।
दलहरूले निरन्तर आन्दोलन गरेपछि ०६१ साल जेठ २९ मा राजाले पुनः देउवालाई तेस्रोपटक प्रधानमन्त्री बनाए । तर, तेस्रो पटकको प्रधानमन्त्री काल ८ महिनाभन्दा अघि बढ्न सकेन ।
राजनीतिक घटना सँगसँगै वि.सं. ०६१ माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए । त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्रविरुद्ध जनआन्दोलनको तयारीमा थिए ।
संसद् पुन: स्थापनापछि गिरिजाप्रसाद पुनः एकपटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए । त्यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किए ।
०७२ सालको तेह्रौं महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भए ।
२३ जेठ ०७४ मा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । देउवा ०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका थिए ।
२०७८ असार २९ ः पाँचौँ पटक प्रधानमन्त्री
२०७४ जेठ २३ मा : चौथो पटक प्रधानमन्त्री
२०७३ : कांग्रेस संसदीय दलको नेता
२०७२ : कांग्रेस सभापति
२०६४ : कांग्रेस एकीकरणपछि वरिष्ठ नेता
२०६१ जेठ २० : तेस्रो पटक प्रधानमन्त्री,
(नौ महिनामा नै ज्ञानेन्द्रले बर्खास्त)
२०५९ असार : कांग्रेस प्रजातान्त्रिक गठन र सभापति
२०५९ असोज १८ : राजा ज्ञानेन्द्रद्वारा असक्षम घोषित गरी प्रधानमन्त्रीबाट वर्खास्त
२०५८ साउन ७ : दोश्रो पटक प्रधानमन्त्री
२०५६ : विद्रोही माओवादीसँग वार्ता निम्ति उच्चस्तरीय कमिटिको सभापति
२०५२ भदौ २६ : पहिलो पटक प्रधानमन्त्री
२०५१ : संसदीय दलको नेता
२०४८ : कांग्रेस सरकारमा गृहमन्त्री
२०४८ : डडेलधुराबाट सांसद निर्वाचित
२०२७ : नेविसंघको संस्थापक सदस्य
२०२२ : कांग्रेसमा आवद्ध
जन्म : २००३ जेठ ३१
असिग्राम रुवाखोला, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरा
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस