कृषि

धान दिवस मनाएर १० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात गरि खाने मुलुक

काठमाडौं । आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको मानिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

१० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिए पनि धान उत्पादन बढाउन भने चुनौती छ । चालु आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ । बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन । गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

थप ६ हजार टन धान उत्पादन हुन सकेमा नेपाल धानमा आत्मनिर्भर हुने सरकारको दाबी छ । यो वर्ष ६० लाख टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि मन्त्रालयका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ । सात वटै प्रदेशमध्ये प्रदेश-१ र लुम्बिनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अरु सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ । धान उत्पादन बढाएर आत्मनिर्भर हुन सबै प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आयात घटाउने हो भने मसिनो र बास्नादार धानलाई प्राथमिकता दिनुपर्ने विज्ञको सुझाव छ ।

यो वर्ष मनसुनको सुरुमै पानी परेकाले देशका धेरै ठाउँमा समयमै रोपाइँ सुरु भएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी र पश्चिम तराईका धेरै ठाउँमा रोपाइँ लगभग सकिएको कृषि मन्त्रालयले जनाएको छ । धान खेतीका लागि यो वर्ष रासायनिक मलको अभाव नहुने पनि सरकारले दाबी गरेको छ । 

मध्य पहाडी भूभागमा असार १५ गते सम्ममा करिब करिब धान रोपाई सकिने र तराईमा भने साउनको मसान्तसम्म पनि धान रोपाई जारी रहने मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले यस बर्ष समयमा बर्ष भएको र पहाडी क्षेत्रमा समेत पर्याप्त बर्ष भएकोले विगतमा धान नै नरोप्ने स्थानमा पनि यस पटक धान रोपाई भएकोले चालु बर्ष भन्दा आगामी बर्ष धान रोपाइँको क्षेत्रफल सामान्य रूपले बढ्ने अनुमान गरिएको बताए । 

यस बर्ष सरकारले तराइका २२ जिल्लाहरूमा भूउपग्रह मार्फत धान रोपाइँको क्षेत्रको तस्बिर लिएर ग्लोबल पोजिसनिङको माध्यबाट लिएर धान रोपाइको क्षेत्रफल पहिल्याउने तयारी भएको पनि प्रवक्ता घिमिरेले बताए। 

गाउँ सहर संवाददाता

तपाईँको मत