गाउँ सहर

गलत पात्र र प्रवृत्तिबाट गणतन्त्रलाई जोगाउँ : नेबिसंघ महामन्त्री तिमल्सिना 

काठमाडाैं । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको आज १४ वर्ष पुरा भएको अवसरमा एक शुभकामना सन्देशमार्फत आफ्नो पुस्ताले अब फेरि ब्यबस्थाको निम्ति लड्न नपरोस् भन्ने कामना गरेका  छन ।
महामन्त्री तिमल्सिनाले कवितात्मक शैलीमा लेखेका छन् :

व्यवस्था फेरियो, जनताको अवस्था फेरिएन,
आफ्नो फाइदामा देश र जनता हेरिएन !
गणतन्त्रले जनताको मुहार फेरोस् 
फेरी व्यवस्थाकै लागि लड्न नपरोस !
   
गणतन्त्र प्राप्तिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदहरुलाई स्मरण गर्दै महामन्त्री तिमल्सिनाले गणतन्त्र प्रप्तिको निम्ति भएको आन्दोलनमा जीवनको पर्वाह नगरी होमिँदा भोगेको यातनाका पीडाहरुसँगै गणतन्त्र प्राप्त हुँदा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज स्थित प्रहरी हिरासत भित्रै अनूभूत गरेको असीमित खुसी, अपेक्षा र आशाहरु आज एकैपटक तुलनात्मक ढंगले मनभित्र तरंगित भएको, त्यतिबेला सुरक्षाकर्मीहरुको पिटाईबाट भाँचिएका र टुटेका हात, खुट्टा र अन्य नथाकेका चोट र पीडा शान्त नहुँदै गणतन्त्रको संरक्षण गर्न अझै थप संघर्ष गर्नुपर्ने अवस्था आउनु निश्चय पनि दुखद भएको बताएका छन् । 

महामन्त्री तिमल्सिनाले गणतन्त्रको गजुर मात्र बनेको तर राष्ट्रपति र प्रधानमन्त्री जस्ता  गलत पात्र र प्रवृत्तिको हातबाट  यसलाई संस्थागत गर्ने भरपर्दो आधार अझ पनि निर्माण हुन नसकेको हुँदा औपचारिक गणतन्त्र आएपनि ब्यबहारमा राणातन्त्र भन्दा नीच खालको पद्धति हाबी रहेको अबस्थामा गणतन्त्र हाम्रो आफ्नै शासन प्रणाली भएकोले आफ्नै अधिकारको रक्षाको लागि प्रत्येक सचेत नागरिक अब थप जागरुक हुन जरुरी भएको औँल्याएका छन् । 

तिमल्सिनाले आफ्नो सन्देशमा हाम्रो निगरानी निरन्तर रहन सकेमात्र हामीले चाहेका  र प्राप्त गरेका उपलब्धिको संरक्षण गर्न सक्छौँ भन्दै न्याय र बिबेकका दृष्टिले गणतन्त्रवादी अरुभन्दा निक्रिष्ट नहुने र यो सिद्ध गर्न पनि स्वयं गणतन्त्र बादी नै गणतन्त्रको संरक्षणमा लाग्न आवश्यक हुने हुँदा त्यसका निम्ति सबैमा अटल र अदम्य शाहस मिलोस भन्ने कामना समेत गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत