कला

“वाह ! मेरो सरकार बाफरे बाफ !”

गरिबीको कारणले कोही भोकै पर्दैन,

कोरोनाको कारणले कोही मर्दै मर्दैन 

यो त सरकारको प्रतिबद्धता हो

त्यसैले त,

किसानको बारीमा बिऊ, मल पुगिसक्यो 

सबैको घर घरमा

ग्यासको चुलो बोलिसक्यो 

मेलम्चीको पानि आइसक्यो 

पानीजहाज र रेल चलिसके

डाँडाकाँडाहरुमा केबुलकार झुन्डीसके 

बेरोजगार पत्तासाफ्

वाह ! मेरो सरकार

बाफरे बाफ !

 

मानव जीवन सबैभन्दा महत्वपूर्ण हो 

जनताको जीवन रक्षा सरकारको दाईत्व हो 

त्यसैले त बनिसके 

गाउँ गाउँमा आइसोलेसन सेन्टरहरु  

ठाउँठाउँमा अस्पतालहरु  

कन्टयाक ट्रेसिंग,

मास भ्याक्सिनेसन भैसक्यो 

अबदेखि कोरोनाले कोहि मर्दै मर्दैन 

अक्सिजनको अभावमा कोहि ढल्दै ढल्दैन  

घाटहरूमा सामूहिक शव दहन हुने छैनन् 

प्रियजनको मृतुमा कोहि रुने छैनन्। 

वाह ! मेरो सरकार

बाफरे बाफ !

 

बस् अब एउटा मात्र पिर छ मलाई 

महाराजको कुर्सि नढलोस् 

सक्षम  प्रधानमन्त्री गुमाउन नपरोस्

दुरदर्शी  राष्ट्रपति फेर्न नपरोस्

नेताहरुबीच चोचोमोचो चलिरहोस्

भ्रष्टाचारी  जेल नपरुन्

कालाव्यापारी र तस्करहरुको

सदैब भलो भैरहोस् 

वाह ! मेरो सरकार

बाफरे बाफ !

तपाईँको मत