गाउँ सहर

लुम्बिनी घुम्ने शुल्कमा बृद्धि, भिडिओ, फोटो खिच्दा पनि थप शुल्क तिर्नुपर्ने

काठमाडौं । लुम्बिनी विकास कोषले पर्यटकका लागि नयाँ प्रवेश शूल्क तोकेको छ ।

कोषले वैशाख १ गतेबाट लागू हुने गरी नेपाली तथा विदेशी पर्यटकका लागि नयाँ प्रवेश शूल्क तोकेको छ ।

कोषले प्रवेश शूल्कमा नेपाली नागरिकलाई ५० रुपैयाँ तोकेको छ । यसमा विद्यार्थीका लागि ५० प्रतिशत छुट हुने कोषले जनाएको छ । 

 

रुपन्देही, कपिलबस्तु र नवलपरासी सुस्ता पश्चिमका नागरिकका लागि भने निशूल्क हुने छ । यसअघि नेपालीका लागि २० रुपैयाँ शूल्क लिँदै आइएको थियो ।  

यसैगरी भारतीय नागरिकको लागि  एक सय रुपैयाँ तोकिएको छ । यसअघि भारतीयका लागि ४० रुपैयाँ थियो । विद्यार्थीका लागि ५० प्रतिशत छुट अहिले निरन्तर दिइएको छ ।

सार्क राष्ट्रका नागरिकका लागि ३ सय रुपैयाँ पुर्‍याइएको छ । यस्तै तेस्रो मुलुकको नागरिकका लागि ६६ सय रुपैयाँ ताकेको  छ ।

यसैगरी कोषले पर्यटकले लैजाने क्यामेरा शूल्क, भिडियो क्यामेरा शूल्क तथा छायांकन शूल्क पनि तोकेको छ । क्यामेराको हकमा नेपाली लागि पहिले ५० थियो अहिले  १ सय, भारतीयका लागि पहिले ५० थियो अहिले १ सय, सार्क राष्ट्रका नागरिकको हकमा  र तेस्रो राष्ट्रको हकमा पहिलो २ डलर थियो अहिले बढाएर ३ डलर तोकिएको छ ।

यसैगरी भिडियो क्यामेराको हकमा नेपाली र भारतीयका लागि पहिले ५ सय रुपैयाँ थियो भने अहिले बढाएर १ हजार र अन्य देशका नागरिकको हकमा २० डलरबाट बढाइएर २५ डलर तय भएको छ ।

छायांकनको हकमा नेपालीलाई पहिले ५ हजार थियो । अहिले बढाएर १० हजार पुर्‍याइएको छ । यता भारतीय र  अन्य देशका नागरिकका लागि ५ सय डलरबाट बढाएर अहिले बढाएर ७ सय डलर तोकिएको छ ।

तर, भिक्षु, भिक्षुणी तथा ७० वर्ष माथिका नागरिक तथा १० वर्ष मुनिका लागि कुनै शूल्क नलाग्ने कोषले जनाएको छ । रुपन्देही, कपिलबस्तु र नवलपरासी सुस्ता  पश्चिमका नागरिकले पनि परिचय खुल्ने कार्ड देखाउनु पर्नेछ ।

गाउँ सहर संवाददाता