राजनीति

डा. शेखर काेइरालाले धुलिखेलमा आफूनिकट केन्द्रीय सदस्यको बैठक किन बाेलाए ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पार्टीका प्रभावशाली लाेकप्रिय नेता डा. शेखर कोइरालाले पछिल्लाे समय आफ्नो अभियानलाई तिब्रता दिएका छन् ।

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । १३ औं महाधिवेशनमै अत्याधिक मत पाएर कार्यकर्ता माझ लोकप्रिय भएका डा. शेखर कोइराला १४ औं महाधिवेशनमा सभापतिका संभावित उम्मेद्वार पनि हुन् । औपचारिक रुपममा डा. कोइरालाले सभापतिमा उम्मेद्वारी दिने घोषणा नगरेपनि अनौपचारिक रुपमा भने तयारी तिब्र बनाइरहेका हुन् ।

कोरोना संक्रमण हुनु अगावै देशभरका नेता कार्यकर्ताको मनोभावना बुझेका डा. कोइरालाले कोरोना संक्रमण कम भएसँगै आफ्नो अभियानलाई तिब्रता दिएका छन् । यसै सिलसिलाको निरन्तरता स्वरुप गएको माघ २७ गते उनले कांग्रेसका आधा दर्जनबढि आफूनिकट केन्द्रीय सदस्यहरुसँग धुलिखेलमा महत्वपूर्ण भेटघाट गरे ।

धुलिखेलको आगन्तुक रिसोर्टमा आफूनिकट सात जना केन्द्रीय सदस्यहरुसँग २४ घन्टासम्म पार्टीको महाधिवेशन, प्रतिनिधिसभा विघटन पछिको राजनीतिक घटनाक्रमका सन्दर्भमा गम्भिर छलफल भएको सहभागी एक सदस्यले गाउँ सहर डटकमलाई बताए ।

औपचारिक रुपमा कहिँ कतै यो भेटघाटको छनक नदिइएकाले डा. कोइरालाले आफूनिकटका केन्द्रीय सदस्यहरुसँग संसद विघटनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आउँदो महाधिवेशनका विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको म्याद समाप्त हुन लागेको विषयले पनि प्रवेश पाएको छ । युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, दीपक गिरी तथा बद्री पाण्डेको भेलामा डा. कोइरालाले वर्तमान राजनीतिक घटनाक्रम र कांग्रेसले अपनाउनु पर्ने रणनीतिका बारेमा ब्रिफिङ गरेका थिए ।

छलफलमा सहभागी केन्द्रीय सदस्य चन्द्र भण्डारीले धुलिखेल भेलाले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा एक ठाउँमा उभिएर अघि बढ्ने सहमति भएको बताए । ‘कांग्रेसको आन्तरिक राजनीति जे जस्तो भएपनि हामी एक ठाउँमा उभिएर अघि बढ्ने सहमति भएको छ,’ भण्डारीले भने ।

छलफलमा आउँदो महाधिवेशनमा डा. कोइरालाले आफू सभापतिमा उठ्ने भनेको र सहभागीहरुले अब औपचारिक रुपमै सभापतिको उम्मेद्वार घोषणा गरेर अघि बढ्न सुझाव दिएका थिए । सहभागीहरुको रायलाई डा. कोइरालाले सकारात्मक रुपमा लिँदै केही दिनमा निर्णय गर्ने बताएका थिए ।

नेपाली कांग्रेसलाई वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मकै संरचनामा व्यापक फेरवदल गरी सबै तहमा व्यापक युवाहरुको बाहुल्यता कायम गर्नुपर्ने डा. शेखरको रणनीति छ । त्यहि भएर उनले पटक–पटक कांग्रेसको पुर्नसंरचनामा स्थानीय तहमा ६०, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवा सहभागिता हुनुपर्ने बताउँदै आइरहेका छन् ।

यसका साथै एक व्यक्ति एक पद एक कार्यकालको अवधारणा डा. शेखरले अगाडी सारेकाले पार्टीमा अधिकांश युवा पङ्क्ति उनको पक्षमा छन् । यदी डा. शेखरले महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिको उम्मेद्वारी आधिकारिक घोषणा गरे जनमत बढ्ने केन्द्रीय सदस्यहरुले राय दिएका छन् ।

छलफलमा कोइराला क्याम्पमा सभापतिका आकांक्षीहरु धेरै भएकाले तीनिहरुलाई कसरी सेटल गर्ने भन्नेमा पनि छलफल भएको स्रोतको भनाई छ । कोइराला क्याम्पमा डा. शेखरसँगै महामन्त्री डा. शशांक कोइराला, सुजता कोइराला पनि सभापतिकी आकांक्षी हुन् ।

यसका अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र विमलेन्द्र निधिले पनि सभापतिमा लड्ने बताइरहेका छन् । डा. कोइरालालाई अहिलेको चुनौति भनेको कोइराला क्याम्पका आकांक्षीलाई मिलाउनु हो । ‘उहाँलाई आफ्नै क्याम्पका आकांक्षीलाई सेटल गर्न चुनौति छ । कोइराला क्याम्पका एक्ला उम्मे्वार भए डा. शेखरलाई कसैले हराउन सक्दैन । हामीले पहिले आफ्नै क्याम्पकालाई सहमतिमा ल्याउँ भनेर सल्लाह दियौं ।’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

भेलामा सभापति शेरबहादुर देउवानिकट युवा केन्द्रीय नेताहरूलाई पनि जोड्नु पर्ने र संवाद अघि बढाउन केन्द्रीय सदस्यहरुले राय दिएका थिए ।

छलफलमा पार्टीको वर्तमान अवस्था, नेतृत्वले निभाएको भूमिका प्रतिपनि विष्लेषण भएको थियो । वर्तमान कांग्रेस नेतृत्व पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै जनतासँग संवाद गर्न नसकेको, कार्यकर्तालाई न्याय नगरेको, लोकतान्त्रिक मूल्य मान्यताअनुसार अघि नबढेको, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न नसकेको र पद र पैसाको लागि सम्झौता गरेर हिँडेको निर्णय गर्दै आउँदो महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

यसका अलावा छलफलले समाजवादको पुनर्व्याख्या, राष्ट्रियताको पुनर्व्याख्यासँगै अन्तर्राष्ट्रिय सम्बन्ध र सांगठानिक संरचनाका बारेमा स्पष्ट नीति लिएर अघि बढ्नुपर्ने कुरामा जोड दिएको छ ।

डा. कोइरालाले बैठकमा नेकपा सरकार खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको, स्वेच्छाचारी भएकोले बर्हिगमन अत्यावश्यक भएको बताएका थिए । उनले वर्तमान सरकारलाई सहज तरिकाले बहिर्गमन गराउन निकै गाह्रो रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दबाब दिएर बर्हिगमन गर्नुपर्नेमा जोड दिएका थिए ।

डा. कोइरालाले केन्द्रीय सदस्यहरु समक्ष आफू व्यक्तिगत रुपमा नागरिक समाज र अन्तर्राष्ट्रिय रुपमा ओली बर्हिगमनका विषयमा संवाद गरिरहेको बताएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत