विश्व

महात्मा गान्धीले "लगाएको र बिग्रिएको" घडी अठार लाखमा बिक्री

  • ८ मङ्सिर सोमबार, २०७७ | ०८:१३:०० मा प्रकाशित

कुनै समय महात्मा गान्धीले "लगाएको र बिग्रिएको" घडी १२ हजार पाउन्ड (झण्डै अठार लाख रुपैयाँ)मा बिक्री भएको छ।

चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुवालाई गान्धीले सन् १९४४ मा "उनको समर्पणका लागि धन्यवाद स्वरूप" दिएका थिए।

लिलामीकर्ता एन्ड्र्यू स्टोले शुक्रवार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउन्ड प्राप्त गर्ने आशा राखेका थिए।

स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एकजना निजी सङ्कलक हुन्।

यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो। गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो।

उक्त घडी कुनै बेला गान्धीका समर्थक रहेका सिकर्मी मोहनलाल शर्माको थियो।

सन् १९३६ मा, उनी नागरिक अधिकारबादी नेता गान्धीलाई भेट्न र उनलाई सघाउन गएका थिए।

त्यतिबेला उनको समर्पणका लागि धन्यवादस्वरूप गान्धीले सन् १९४४ मा आफ्नो घडी दिएका थिए। र, त्यसको स्वामित्व क्रमश: मा उनका नातिकहाँ आइपुग्यो।

"यो इतिहासको एउटा अविश्वसनीय वस्तु हो र यो लगाइएको र फुटेको हुनाले महत्त्व थपिएको छ," स्टोले भने।

"यो घडी धेरै वर्ष गान्धीले लगाएका थिए भनेर सोच्दा र त्यसपछि उनका एकजना निकटका साथीलाई दिइएको थियो र जसले त्यसलाई त्यति नै महत्त्व दिएर जोगाए भन्ने तथ्य अदभूत छ।"बीबीसी

तपाईँको मत