गाउँ सहर

अष्ट्रेलियामा पाैडी खेल्ने क्रममा ज्यान गुमाएका दुई नेपाली युवाको सनाखत

  • १९ पौष शनिबार, २०७६ | १८:२०:०० मा प्रकाशित

सिड्नी  (अष्ट्रेलिया) ।  शुक्रबार राति सिड्नीको एक खोलामा डुबेर मृत्यु भएका दुई नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा २६ वर्षका विशाल सेढाईँ र २३ वर्षका रोशन छतकुली रहेको यहाँको टेलिभिजन नाइन न्यूजले आफ्नो समाचारमा बताएको छ ।  साथीहरुको समूहमा उनीहरु क्याम्पिङसँगै माछा मार्ने योजनामा शुक्रबार दिउँसो बेरोरा नेसनल पार्क पुगेका थिए ।

त्यसको केही समयपछि पौडी खेल्नका लागि खोलामा पसेका तीनजना मध्ये दुईजना बेपत्ता भएका थिए ।  

बेलुका करिब साढे सात बजे आकस्मिक सेवाका कर्मचारीहरुले दिएको जानकारीअनुसार बेरोरा नेसनल पार्कस्थित हन्सर्बी खोलामा दुईजना व्यक्ति हराइरहेको र एक जनालाई सास फेर्न मुश्किल भएको अवस्थामा पानीबाट बाहिर तानिएको भन्ने समाचार सार्वजनिक भएको थियो ।

न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाका कर्मचारीहरुले गम्भीर अवस्थामा पानीबाट बहिर निकालिएका मृतक विशालकै आफन्त पर्ने प्रदीप पाण्डेको प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि सिड्नीकै वेस्टमिड अस्पताल लगिएको थियो । उनको अवस्था गम्भीर बताइएको छ ।

घटनामा खटिएका गोताखोर प्रहरीलाई कुरङ–गाइ पुलिस एरिया कमान्डका अधिकारिहरुले सहयोग गरेका थिए । रातको करिब साढे ११ बजे गोताखोर प्रहरीले पानीमा हराइरहेका दुईजनालाई मृत फेला पारेका थिए ।

तपाईँको मत