पत्र-पत्रिकाबाट

पत्रपत्रिकामा आज : दुई महिनामा बाँडियो २ करोडदेखि आजबाट दशैंकाे बस टिकट बुकिङ खुलाका समाचार

  • ५ असोज आइतबार, २०७६ | ०६:५१:०० मा प्रकाशित

कास्कीमा उम्मेदवार बन्न ओली र प्रचण्डले गरेको प्रस्ताव वामदेवद्वारा अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार गरेका छन्। 

आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई शनिबारको केन्द्रीय सचिवालय बैठकमा कास्कीको रिक्त प्रतिनिधिसभा पदमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। 

कास्कीबाट रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र अहिले खाली छ। त्यहाँ आउँदो मंसिर १४ गते उपनिर्वाचित हुँदैछ। यसलाई मध्यनजर गर्दै अध्यक्षद्वयसहित नेताहरुले वामदेवलाई उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। 

तर, गौतमले प्रस्ताव अस्वीकार गर्दै उम्मेदवारी नदिने जानकारी गराएका छन्। ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन्, ‘तर मैले उम्मेदवारी नदिने स्पष्ट पार्न चाहन्छु।’नागरिक दैनिकमा समाचार छ । 

आजबाट बस टिकट बुकिङ खुला

यस वर्षको दसैंका लागि आज (आइतबार) देखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवसायी र सरकारबीच दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमतिअनुसार टिकट बुकिङ खुला हुन गइरहेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आइतबारबाट बसको टिकट खुला हुने र शनिबार नै बसपार्कमा रिबन काटेर नागरिक सहायता कक्षको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्धारा उद्घाटन गरिएको जानकारी दिए ।

उनले उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राखिने पनि बताए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा २६ भदौमा यातायात व्यवसायीसँग बसेको बैठकले आजबाट टिकट खुलाउने सहमति गरेको थियो ।

उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुनधारा, नागढुंगा, जगाती र लगनखेललगायतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ ।

महासचिव सिटौलाले यात्रुको चाप हेरेर रुटअनुसार बस थप गर्दै जाने बताए । ‘पहिलो दिन यात्रुहरूको भीडभाड होला नै, हामी यात्रुको चापलाई हेरेर रुटअनुसार बस थप्दै जाने तयारीमा छौं, उनले राजधानीसँग भने, ‘काम थालेपछि केकस्तो हुन्छ समीक्षा गर्दै अघि बढ्छौं ।’राजधानी दैनिकमा समाचार  छ । 

हुम्ला दशैंअघि नै राष्ट्रिय सडक सञ्जालमा जोडिने

हुम्लाको सदरमुकाम सिमीकोट दशैंअगावै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। दशैंअघि ट्र्याक निर्माण सम्पन्न भएसँगै सिमीकोट राष्ट्रिय सडक सञ्जालले जोडिने भएको हो।

हुम्लाको सदरमुकाम सिमीकोटबाहेक अधिकांश सदरमुकाम राष्ट्रिय सडक सञ्जालले जोडिइसकेको छ। हुम्लाको हिल्सादेखि सदरमुकाम सिमीकोटसम्मको ९५ किलोमिटर दूरीको सडकको ट्र्याक खोल्ने काम दशैंअघि नै सकिने हिल्सा–सिमीकोट सडक योजनाले जनाएको छ।

आयोजना प्रमुख शशांक मिश्रले हिल्सादेखि सिमीकोट सडक छिचोल्न १५ मिटर मात्रै भएकाले दशैंअघि जोड्न सम्भव हुने बताए। ‘दशैंअघि नै सदरमुकाम सिमीकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन्छ। १५ मिटर मात्रै सडक खन्न बाँकी रहेको छ।’ –योजना प्रमुख मिश्रले भने । नेपाल समाचारपत्रमा समाचार छ ।

चाडपर्वमा रुट इजाजत खुला

यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।

चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने जानकारी दिए । सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिनारोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन् ।

सवारी साधनको अग्रिम टिकट बुकिङ असोज ५ देखि खुला गरिएको जानकारीसमेत महानिर्देशक हमालले दिए । चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने गरेकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । गोरखापत्रमा समाचार छ ।

दुई महिनामा बाँडियो २ करोड

सरकारले चालु आवको दुई महिनामै करिब २ करोड रुपैयाँ आर्थिक सहायता बाँडेको छ । चालु आव ०७६/७७ को साउन र भदौमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सरकारले १ करोड ८४ लाख १ हजार १ सय ७८ रुपैयाँ सहायता वितरण गरेको हो ।

साउनमा सरकारले साधारण खर्चतर्फ ५७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ रकमान्तर गरेको छ । भदौमा १ अर्ब ३१ करोड ७४ लाख ७९ हजार २ सय ८८ रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर गृह मन्त्रालयले साउनमा १४ जना र भदौमा २४ जनालाई सरकारी ढुकुटीबाट रकम बाँडेको छ । गृह मन्त्रालयका अनुसार साउनमा १४ जनालाई ६५ लाख र भदौमा २४ जनालाई १ करोड १९ लाख १ हजार १ सय ७८ रुपैयाँ वितरण गरिएको छ । भदौ १, २ र ४ गतेको मन्त्रिपरिषद्ले सर्लाहीका महेश थापासहित १८ जनालाई ९१ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

संखुवासभाका मुकुन्द पुरीलाई ५ लाख र बाँकेका कमलसिंह क्षत्रीलाई १ लाख दिइएको छ । सिरहा गोलबजारका इन्दल साहलाई ८ लाख ६२ हजार १ सय ३० रुपैयाँ औषधोपचारका नाममा निकासा दिइएको छ ।

साउन ६ र १६ मा बसेको मन्त्रिपरिषद् बैठकले १२ जनाका नाममा ५९ लाख रुपैयाँ रकम बाँडेको छ । एकाध सहायता वितरण स्वाभाविक देखिए पनि अधिकांश सरकार र सत्तारूढ दलसँग नजिक भएकालाई बाँडिएको पाइएको छ ।

आर्थिक सहायता माग्दै २ हजारभन्दा बढी निवेदन परेको मन्त्रालयले बताएको छ । आर्थिक सहायता माग्नेमध्ये सत्तारूढ दल नेकपा निकटकै बढी रहेको गृहका एक अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ ।

 

तपाईँको मत