दृष्‍टिकोण

दिदीकाे सम्झना, सँधैकाे अभाव

प्रत्येक घर छाेरीबिहीन नहाेस्

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज भाईटिका । बिहान सबेरैदेखि घर-घरमा चहलपहल शुरुभइसक्यो होला, दिदीबहिनीहरु दाजूभाइलाई टिका लगाउन घर तथा माईती पुगिसक्नुभयो होला । कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुहुन्छ हाेला ।

सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरिवल, छोकडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीबहिनीले दाजूभाईको पूजागर्ने चलन छ । अाज तिहार हुनेकाे लागि उज्यालाेकाे दिन हाे । दिदीबहिनीले दाजूभाई भेटघाट अनि रमाइलाे दिन हाे अाज ।

धर्मशास्त्रमा भाईटिका

भाईटिकाका विषयमा एउटा अत्यन्त प्रचलित धार्मिक जनविश्वास रहेको छ- एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाईको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ । यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाईटिकाको चलन चलिआएको बताइन्छ ।

समाजमा दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैँमा नै दाजूभाईलाई भाईटिकाको निम्तो गर्ने चलन छ । यसरी निम्तो पाएका दाजूभाईहरु आज दिदीबहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाईलाई विशेष पूजा गर्नकालागि भूँर्इमा चकटी ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दूबाेबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भूटेर तयार भएको लाभा छर्कंदै कलशको पानीलाई दुबोले अभिसेखगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाईको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।

शिरमा तोरीको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टिका लगाईदिएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाईले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा, काठमाडाैँको हकमा रानीपोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाईटिकामा जाने चलन छ । तपाइँले पनि याे कर्म अाज भ्याउँदै हुनुहुन्छ सायद ।

आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाई तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । दुःख सुखका कुरा गर्दै आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत याे चाडको आ-आफ्नै तरिकाले मनाउने गरिन्छ ।

भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको आज पाँचौ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदैछ । दशैँलाई विस्तारै विदा गरेर तिहारको रमाईलोमा लुटपुटिँदै गर्दा तिहारको झटपट विदार्इले केहीसमय नरमाईलो पनि हुन्छ । पर्वीय विदाहरू सक्किएर अब विद्यालयहरू सूचारु हुन्छ, कार्यलयमा पनि नियमित दैनिकीका गति लिनथाल्दछ । हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ । तिहार पश्चात ताताे व्यापार मज्जाले फस्टाउँछ ।

टिका लगाउँदै देउसी खेल्नमा तपाइँ अाज सायद व्यस्त हुनुहुन्छ । दिदीबहिनीकाे अगाढ मायालाइ साथमा बटुल्नुभएकाे छ । अशिर्वादले तपाइँकाे प्रगति बढाेत्तरी हुनेछ । तर, माफ गर्नुहाेला मेराे यसपटक तिहार छैन, जुठाे परेकाे छ ।

उसाे त अामाकाे काेखबाट जन्मिएकी दिदीकाे मृत्यु भएकाे २४ वर्ष भयाे । प्रत्येक वर्षकाे याे चाडले मलाइ झसंग बनाउँछ । म अात्तिन्छु, सम्झन्छु अनि एक्लै रून्छु । प्रत्येक तिहारहरू मेरालागि निधारकाे खाली त भएनन् तर मनमा खिन्नता र अभाव कायमै छ । भान्जीकाे विवाह गरेर एक छाेरा छन्, टिकाकाे दिनमा उनी लगायत काका, ठूलाे बुवाका छाेरी दिदीबहिनी अादिकाे हातबाट टिका थाप्ने नै गर्छु । तर एक प्रकारकाे अभाव रहिरहन्छ । दिदीबहिनी भए हुन्थ्याे जस्ताे लाग्छ ।

भाईटिकाकाे शुभकामना ।।।

तपाईँको मत