प्रेरणा

जाँतो अमेरिका, सिलौटो अष्ट्रेलिया, छोरा जापान 

काठमाडौं । फौजीे जागिर पेन्सन भएर छाडेपछि गोरखा आरुघाटका रामबहादुर थापालाई काठमाडौंमा के गर्ने भन्ने अन्यौल भयो । उनकी श्रीमती सीता थापा सानोतिनो पसल गर्थिन् । जागिर छोडेपछि उनलाई सक-सक भइनै रह्यो । 

रामबहादुरसँग सिकर्मीको सीप थियो । जागिरमा रहँदा पनि उनले त्यहीँ काठमा आफ्नो कला भरे । उनमा काठको काम गर्ने सोच पलायो तर लगानी थिएन् । श्रीमतीसँग सल्लाह गरेर तर त्यो योजना लगानी अभावले तुहियो । 

चाबहिलमा बुटवलका साथीहरु सिलौटो बेच्थे । उनीहरुको ध्यान त्यतातिर मोडियो । २५ वर्ष अघिको कुरा सम्झिदै श्रीमती थापा भन्छिन्–‘शुरुमा २०–२५ हजारको लगानीमा १५–२० वटा ढुंगा किनेर खेला गरेका थियौं । त्यसै गर्दा गर्दै लाखै भयो । हुँदा हुँदै दुईलाखै भयो ।’

जसले बेचेको जाँतो, सिलौटो काठमाडौं उपत्यकादेखि बेलायत, अमेरिका, अष्ट्रेलियामा रहने नेपालीको घर घरको भान्सामा पुगेको छ । काठमाडौंमा कोठा लिएर बस्ने अधिकांश विद्यार्थीका भान्सामा मसला पिसिरहेका छन् ।   

‘झ्याल ढोका बनाउँने, कुँद्ने सीपलाई ओखल, जाँतो, चन्दन घोट्ने चनौटो, खलौटो र सिलौटोमा प्रयोग भएपछि कलात्मक बन्न थाल्यो । जसको मूल्य पनि राम्रै आउन थाल्यो । विस्तारै हाम्रो आम्दानी बढ्दै आयो'– थापा भन्छन ।  

सिलौटोले छोरा छोरीसहितको चार जनाको परिवारको गुजारा मात्र चलाएको छैन् । उनीहरुले बचत समेत गरेर चितवनको नारायणगढमा तीन कठ्ठा जग्गा जोडेका छन् ।  अब काठमाडौंको राम्रै ठाउँमा जग्गा किन्न खोजिरहेका छन् । 

त्यसो त चाबहिल हेल्पिङ् हेण्ड्स अस्पतालसँगैको बाटोको दुई तले रातो घर उनीहरुकै हो । जहाँ उनीहरुको जाँतो, ओखल, सिलौटोको होलसेल पसल छ । त्यसमा पेन्सनबाट आएको केही रकममा उनीहरुले बाटोमा बसेर सिलौटो बेचेको पसिना पनि जोडिएको छ । भूर्इँ तलामा औषधी पसल राखिएको छ । जसमा उनकै ‘मास्टर लेभेल’ को पढाईको तयारी गरिरहेकी छोरीले साथीहरुसँग मिलेर फार्मेसी पसल राखेकी हुन् । उनी व्यवस्थापन पक्ष हेर्छिन् ।  

छोरा चार वर्षदेखि जापानमा अध्ययन गरिरहेका छन् । वर्षको दश लाख भन्दा बढी खर्च लाग्छ । त्यो खर्च अहिलेसम्म सिलौटोले नै धानेको  छ । सीता दम्पतीले ३ जना भदाहरुलाई डिग्रीसम्मको पढाई त्यहीको कमाईले पुर्याए । 

रामबहादुर दिनको १० वटासम्म ढुंगालाई आकार, बुट्टा दिन्छन् । उनीहरु आफै ढुंगामा बुट्टा भर्नेदेखि धोइ पखाली सबै काम गर्दछन् । ढुंगा विरगञ्ज, कलैया, पाल्पा ल्याउँछन् । सबै आफै बनाउँछन् । पहिले सबै हातले कुद्नु पथ्र्यौ, अहिले मेशिनबाट सजिलो हुन्छ । 

चाबहिल ओरालोको बाटोमा तराइ तथा भारतीयमूलबाट आएकाहरुले जाँतो तथा सिलौटोमा बुट्टा भरिरहेको देख्न सकिन्छ । उनीहरुले पनि थापा कहाँबाट नै होलसेल मूल्यमा लिएर त्यसलाई सिँगार पटार गरेर बेचिरहेका हुन्छन् । 

थापा परिवारले पनि पहिले होलसेल पसल घरमा भएपनि केही सामान बाटोमा राखेर बेच्ने गर्दथे तर महानगर प्रहरीले खोसेर लैजाने, नदिने दुस्ख दिने गर्न थालेपछि घरबाट मात्र बेच्न थालको सीताले बताइन् । बाटोमा राखेको चौधवटा ढुंगा लैजादा लिनको लागि ५ हजार खर्च लाग्यो । कुनैबेला खर्चपानीको लागि पैसा मागिरहन्छन् ।

कलँकी, जोरपाटी, कोटेश्वर लगायतका स्थानहरुबाट ठूलो परिणाममा लिन आउँने गर्दछन् । विशेष गरी भाँडा पसलेहरुले थोकमा लैजान्छन् ।   

एउटा सिलौटोको होलसेल मूल्य सबैभन्दा सस्तो ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म पर्दछ । मूल्य निर्धारण साइज, खाल्टो परेको, चारपाटे जस्ता कुराले निर्धारण गर्दछ । सबैभन्दा बढी ८ सयसम्म पर्दछ । एउटा सिलौटा साइज र आकार हेरेर सयदेखि चारसयसम्म हुन्छ । जाँतो भने वर्षको सय जोर जति बिक्री हुन्छ । जसको एक हजार देखी १५ सयसम्म पर्दछ । थापा भन्छन् 'महिनाको एक लाखभन्दा बढी आन्दानी हुने गरे पनि अहिले अलि घटेको छ । कम हुनुको कारण रोडमा बेच्न पाइन्न । फेरी तराई मुलका मानिसहरु आएर बाटैबाट बेच्छन् । कतिपयले यहाँ देख्दैनन् ।विद्यार्थीहरुलाई भने हामी अलि कम नाफा राखेर बेच्छौं ।' धेरैजसो क्याम्पसमा बढ्न आउने विद्यार्थीहरु सिलौटोका ग्राहक हुन् । 

‘छोराछोरीले अब काम नगर्नुस् भन्छन् । कति धुलै फुस्रैको जिन्दगी जिउनुहुन्छ भनेर गाली गर्छन् तर दुई चार पैसा कमाएँ भन्दैमा व्यवसाय छाडिहाल्नु त भएन नी । जसले हाम्रो परिवारलाई यहाँसम्म आउन मद्दत गरिरहेको छ त्यो पेशा सजिलै काँ छोड्नु । सकुन्जेल गर्ने हो । आफन्तहरुले कहिलेकाँही चाहीँ कति काम गर्छन हो यी बुढाबुढी भन्छन् । कहिलेकाँही कति टुकटुक गर्नु जस्तो पनि लाग्छ । तर त्यसो भनेर छोडेर के पेशा गर्नु रु प्रश्न गर्छन् ।’ 

सीपलाई सदुपयोग गरेर धैर्यता राख्नुपर्नेमा दम्पतीको सुझाव छ । ‘दुःख गर्नुपर्छ । दुःख गरे पैसा पनि चलाउन पाइन्छ । उद्यम गर्न लाज मान्नुहुन्न । पेशा सानो ठूलो, तल्लो माथ्लो भन्ने हुन्न । पैसा भनेको हातको मैला हो । कमाउनको लागि पेशाको निरन्तरता र हातमा सीपको आवश्यकता पर्दछ । एकैपटक धनी हुन्छु भन्ने होइन धैर्यता पनि चाहिन्छ ।’
तस्बिर : श्रीराम खनाल 

तपाईँको मत