अन्तर्वार्ता

रामचन्द्रको अमिलो, शेर र शिवबहादुर

पार्टीभित्रका सबै साथीहरुको कुरा सुन्नुपर्दछ

राजनीतिमा सधैं सबै प्राप्ति नै हुन्छ भन्ने हुन्न । आफू बाहेक सहकर्मी, सहपाठी पार्टी तथा देशको प्रमुख पदमा पुग्दा पनि आफू नै पुगेँ जस्तै भावनात्मक महसुस गर्ने कमै हुन्छन् । आफैँमात्र हुनुपर्छ नभए आफ्नै गुटका हुनुपर्छ भनेर छिर्के हान्ने नेपाली राजनीतिमा अनौठो होइन । तर, उनलाई पार्टीभित्र जो भएपनि पार्टी र देश हितमा काम गर्ने देश विदेशको राजनीति बुझेको, सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आओस् भन्ने मात्र चाहना हुन्छ । 

उनका सहकर्मी शेरबहादुर देउवा नेपाली कांग्रेसको पार्टी सभापति छन् । देशको चार पटक प्रधानमन्त्री पनि भइसके । तर, उनलाई बेला—बेला आफै भएजस्तो पनि लाग्छ । उनी हुन् झण्डै ६ दशक नेपाली प्रजातान्त्रिक आन्दोलमा संलग्न तथा नेपाली कांग्रेसका पूर्व संविधानसभाका सदस्य, कर्मठ राजनीतिज्ञ, नेविसंघको जन्मदाता  शिवबहादुर खड्का । 

शेरबहादुर देउवा र शिवबहादुर खड्का ‘घनिष्ठ लगौंटीया’ मित्र हुन् । उनीहरु एक अर्कालाई तँ, तिमीको साइनोमा नजिकिन्छन् । त्यसो त त्यो सम्बन्ध जोड्ने तन्तु यतिक्कै बनेको चाहीँ होइन । उनीहरुको झण्डै ६ दशकको अवधिमा राजनीतिक, पारिवारिक सम्बन्ध, कलेज पढ्दादेखिको मित्रता र ‘झिल्के’ उमेरका आफ्नै तितामिठा इतिहास छन् । रामेछापबाट काठमाडौंमा पढ्न आएका खड्काले आइ कम पास गरेर बिए पढ्न त्रिचन्द्र पुगेका थिए भने सुदुरपश्चिम डडेलधुराबाट आएका देउवापनि आइ एस्सी पास गरेर बीएको लागि त्रिचन्द्रै पुगेका थिए । दुवैको भेट त्यहीँ भयो । 

अहिलेको  राजनीतिको सेरोफेरो र केही पुराना प्रसङ्गमा रहेर उनकै निवास भक्तपुरको ठिमीमा गाउँसहर डट कम का लागि रुद्रप्रसाद भट्टराई, शिवराज खड्का र श्रीराम खनालले लिएको अविस्मरणीय अन्तर्वार्ताको सारांश यहाँ प्रस्तुत गरिएको छ । 

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
नेपाल विद्यार्थी संघलाई वैधानिकता दिएदेखि नै नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसमा आवद्ध भएर अहिले पनि पार्टीमा सक्रिय छु  । बीस/बाइस वर्षको उमेरदेखि नै कांगे्रसमा लागेको म, झण्डै ६ दशक समय कांग्रेसमै बिताएको छु । अलि—अलि अध्ययन, नजिकका कार्यक्रममा सहभागी हुन्छु । स्वास्थ्य अलि कमजोर भएकाले धेरैजसो घरमै रहन्छु ।

राजनीतिलाई फर्केर हेर्दा कस्तो देख्नुहुन्छ ?
अहिलेको कांग्रेसको राजनीतिलाई गहिरिएर हेरेर भन्दा धेरै साथीहरुको चित्त दुख्छ । पार्टीका धेरै साथीहरुलाई चित्त दुखाउनुपर्ने हुन्छ । विशेषगरि नेपाली कांग्रसको राजनीति चुनावपछि ओरालो लागेको छ । त्यसलाई अघि ल्याउन धेरै मिहिनेत गर्नुपर्छ । सबै एकजुट भएर पार्टी अघि बढ्ने स्थिति पनि छैन् । पछिल्लो समय शेरबहादुर जीले बहुमतबाट पदाधिकारी मनोनयन गरेको निर्णयले एउटा तप्कालाई त्यसले चित्त बुझाउन सकेको छैन । यसरी नै अघि बढ्यो भने नेपाली कांग्रेसभित्र मिलेर जानेमा शंकास्पद छ । 

प्रजातान्त्रिक पद्धतिमा त बहुमतको निर्णयलाई सबैले स्वीकार्नुपर्दैन र ?
शेरबहादुरजीले बहुमतबाट गर्नुभएको निर्णयमा नै रामचन्द्र पौडेल लगायत केही साथीहरुको टिप्पणी सरसल्लाह नगरि अधिनायकवादी सोचले काम गर्यो भन्ने भनाई छ । प्रजातन्त्रमा अन्तिम निर्णय बहुमतले गर्ने भएपनि बहुमत छ भन्दैमा पेलेर लैजानु प्रजातान्त्रिक मूल्य र मान्यतालाई उपेक्षा गर्नु हो । जुन निर्णयले एउटा वर्गलाई बाहिर लैजान्छ । देउवाजीले जे नगर्नुपर्ने थियो त्यहि गर्नुभयो । यस्ता निर्णय जसले पार्टी एकता भन्दा पनि विभाजनलाई तागत् दिन्छ । 

पार्टीको पुरानो नेता तथा पार्टी सभापतिको सहकर्मी पनि भएकोले तपाइँसँग सार्वजनिक निर्णयको बेला सरसल्लाह हुन्छ ?
यसपटक म बिरामी पनि थिए । पहिले पहिले कयौं कुराहरु हुन्थे । अहिले कमै सल्लाह हुन्छ । पूर्वप्रधानन्याधिश शुशिला कार्की र आइजीपिको कुरामा मैले केही सल्लाह दिएको थिएँ । तर, त्यो लागू भएन । पार्टीभित्र अरुको कुरा पनि सुन्नुपर्छ । यो पछिल्लो निर्णय ठीक बहुमतले मात्र गर्नु चाहीँ राम्रो होइन ।

झण्डै ६ दशकको अवधिमा राजनीतिक, पारिवारिक सम्बन्ध, कलेज पढ्दादेखिको मित्रता र ‘झिल्के’ उमेरका आफ्नै तितामिठा इतिहास छन् । रामेछापबाट काठमाडौंमा पढ्न आएका खड्काले आइ कम पास गरेर बिए पढ्न त्रिचन्द्र पुगेका थिए भने सुदुरपश्चिम डडेलधुराबाट आएका देउवापनि आइ एस्सी पास गरेर बीएको लागि त्रिचन्द्रै पुगेका थिए । दुवैको भेट त्यहीँ भयो । 


अधिनायकवाद सोचबाट जाने सोच नेपाली कांग्रेसभित्रका त्यो घातक हुन सक्छ । यसले ग्रुप विभाजन गर्न थप मद्दत गर्दछ, गुटलाई वैधानिकतातिर डोर्याउँछ । पार्टीभित्रका साथीहरुको इज्जत र प्रतिष्ठामा चोट पुगेपछि पार्टी विभाजनसम्म पुग्न सक्छन् तर तत्काललाई त्यो सम्भावना भने छैन । 

नेपाली कांग्रेदेखि भातृसंगठनमा विचारको बिचलनका कारण गुट फस्टाएको हो ?
यसको लागि अलिकति इतिहासतिर फर्कौं । कम्युनिष्टको विद्यार्थी संगठन बनिसकेकोले कांग्रेस निकटको पनि संगठन बनाउनुपर्छ भनेर २०२६ सालमा मसहित, देउवा, बिपिन कोइराला, दमननाथा ढुंगाना, रामचन्द्र पौडेल, मार्सलजुलुम शाक्य, जवारी जोशी लगायत दशजना मिलेर नेविसंघ बनाएका हौं  । जेलभित्रै रहँदा झण्डा, विचार, संगठन लगायतको प्रारुप हामीहरुले अध्ययन गरेर तयार गरेका थियौं । मुद्दा मामिला गरेपछि बल्ल नेविसंघले वैधानिकता पाएको थियो । तर, अहिले आफैँले जन्माएको नेविसंघको विवाद सडकमा छताछुल्ल भएको देख्दा नमज्जा लाग्छ । 

पहिलो त पार्टीको सभापतिबाटै विवादका हाँगाका शाखाहरु वृद्धि भइरहेका छन् । सभापतिले पार्टीमा गर्नुपर्ने कामहरु धेरैपटक नगर्नाले त्यसको प्रभाव भातृसंगनठबाट समेत सतहमा आइसकेको छ । पहिलो दोष पार्टी सभापतिलाई नै जान्छ । तर, दोष उहाँलाई मात्र दिएर हामी कांग्रेसका जिम्मेवार सदस्य उम्कन मिल्दैन । भाँडभैलो स्थितिमा पुर्याउने धेरै हात पार्टी चाहीँ सभापतिकै रहन्छ । 

महासमितिको बैठकपछि पार्टीले एउटै मनमा जोड्न कतिको सहयोग गर्ला ?
विधानत्ः महासमितिको बैठक बोलाउनुपर्ने नै थियो, ढीलै भएपनि बोलाउनु त्यो ठीक छ । यो बैठकपछि पार्टीले एउटा लाइन तय गर्छ भन्ने गगन थापा, विश्वप्रकाश शर्मा लगायत धेरै युवाहरुको पनि सोचाई सान्दर्भिक छ । महासमितिको निर्णय कस्तो आउँछ त्यसैमा भर पर्दछ । कानुनसम्मत पार्टीलाई हिँडाउन हितकर हुनसक्छ । पार्टीमा अरु साथीहरुको कुरा पनि सुन्नुपर्छ । बहुमतको नाममा एउटा पक्षले अर्को पक्षलाई भित्तैमा पुग्ने गरि त ठेल्नु त भएन नी । 

युवा पुस्तामा पुराना पुस्तालाई हस्तक्षेप गरेर जानुपर्छ भन्ने दबाबहरु आइरहेका छन् नी ?
उनीहरुको भनाईप्रति मेरो असहमत होइन तर अलि हतार गरे भन्ने तर्क छ । शेरबहादुर लगायत पुराना पुस्तालाई यहिबेला हस्तक्षेप गरेर पार्टीको सत्तमा पुग्नुपर्छ भन्ने सोचाई हो भने अलि हतार भयोे । यो अपरिपक्वता पनि हो । आक्रमक भन्दापनि प्रक्रियागत रुपमा जानुपर्दछ । त्यसो त नेपाली कांग्रेसमा अन्तिम घडिसम्म अर्थात आर्यघाटसम्म नपुगन्जेल पद नछोड्ने प्रचलन छ । तर, शेरबहादुरजीले त्यो कुरालाई पनि त्याग्नुपर्छ । नयाँ पुस्ता आउनुपर्छ भन्नेमा मेरो पूर्ण समर्थन छ । उनीहरुले अर्को अधिवेशनको तयारी गर्ने हो । त्यतिन्जेलसम्म उनीहरुले काम गर्नुपर्दछ । देश घुमेर कार्यकर्ता प्रशिक्षण गर्नेदेखि संगठनलाई मजबुत बनाउन हिँड्नुपर्दछ । आउने अधिवेशनमा शेरबहादुर, रामचन्द्र पौडेल वा मलाई भोट दिने कमै हुन्छन् नी । स्वतः उनीहरुप्रति नै झुकाव रहन्छ नी । पालो उनीहरुको नै हो । 

पुराना दिनतर्फ फर्कौ न ? 
म सामान्य परिवारको मानिस रामेछापबाट काठमाडौंमा पढ्न आएको थिएँ । आइ कम पास गरेर बिए पढ्न त्रिचन्द्र पुगेका थिएँ भने सुदुरपश्चिम डडेलधुराबाट आएका देउवा पनि आइ एस्सी पास गरेर बीएको लागि त्रिचन्द्रै आएका रहेछन् । हामी दुवैको भेट त्यहीँ भयो । दोस्ती खुब जम्याथ्यो ! त्रिचन्द्र कलेज अहिलेका पहिलो पुस्ता नेताहरुको राजनीतिक शैक्षिक हासिल गर्ने थलो थियो । 

संस्कृत पढेर आएका रामचन्द्र पौडेलले त्यतिबेला चुक्/अमिलो बेच्थे । हामी त्यही मौका छोपेर अमिलो बेचेर जोगाएको पैसा खासेरै भट्टी छिथ्र्यौँ । उनी रक्सी खाँदैनथिए । त्यसैले हामीलाई देख्नासाथ सतर्क हुन्थे । 

हामी पहिलो पटक २०१८ सालमा दुर्गानन्द झा मारेको विरोधमा उत्रिँदा जेल पर्यौं । अर्को घटना त्रिचन्द्र कलेजमा विद्यार्थीहरुको कार्यक्रम थियो जहाँ टंकप्रसाद आचार्य प्रमुख अतिथि थिए । तर, कार्यक्रम हुन नसकेपछि उहाँलाई हामीले झ्यालबाट भगाएर पठायौं । त्यसपछि त्यहाँ झडप र भीडन्त भए हामीलाई जेल हालियो ।  
शेरबहादुर र म लगायत केही साथीहरु अलि उट्फट्याङ् थियौं । पैसा हुँदा अलिकति ‘फुर्तिफार्ति’ गर्नुपर्ने । ‘स्टाइलिस’ बन्नुपर्ने थियौं हामी । बेला—बेला लोकल रक्सी र कुखुराको मासुमा झुम्थ्यौं । संस्कृत पढेर आएका रामचन्द्र पौडेलले त्यतिबेला चुक्/अमिलो बेच्थे । हामी त्यही मौका छोपेर अमिलो बेचेर जोगाएको पैसा खासेरै भट्टी छिथ्र्यौँ । उनी रक्सी खाँदैनथिए । त्यसैले हामीलाई देख्नासाथ सतर्क हुन्थे । 

वि.सं. २०२२ सालमा त्रिचन्द्र कलेजमा प्रजातान्त्रिकधारका विद्यार्थीहरुले चुनाव जिते । प्रजातान्त्रिक पक्षधर र विद्यार्थी संगठनबीचको चुनाव हुँदा मैले स्ववियुको तल्लो सदनबाट अध्यक्षमा र देउवाले माथिल्लो सदनको सदस्यमा जितेपछि झन फूर्ति र दोस्ती बढ्यो ।
विद्यार्थीबीच झडप भइरहन्थ्यो । विद्यार्थी संगठन र मण्डलेहरुसँग कुटाकुट भइरहँदा बेलाबेला जेल गइरहनुपर्दथ्यो । त्यही जेलमा कांग्रेसका अग्रज नेताहरुका संगत, कुराकानीले हामीलाई पनि राजनीतिको रन्कोले तान्यो । हामीहरु त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा सेलिब्रेटी भइसकेका थियौं । हामी थाना वा जेलबाट छु्टदा पत्रिकामा समाचार बन्थ्यो । 

पार्टी मजबुत बनाएर लैजान पार्टीभित्र देखिएको ग्रुपलाई जोड्न अब मध्यमार्गी बाटो खोज्नुपर्दछ । त्यो बाटो नखोजिए पार्टीभित्र दुई किनारा रहन्छ । त्यसले देशलाई हित गर्दैन । पार्टीभित्रका सबै साथीहरुको कुरा सुन्नुपर्दछ ।

२०४३ सालमा राष्ट्रिय पञ्चायतको आमनिर्वाचनलाई ‘उपयोग गर्ने’ भन्दै पञ्चायती निर्वाचनमा भाग लिएपछि कांग्रेसमा पनि गिरिजाप्रसाद कोइराला पञ्चायत प्रवेशका निम्ति ‘सम्मानजनक’ बाटो खोज्दै हुनुहुन्थ्यो । त्यसक्रममा गिरिजाप्रसाद र राजा वीरेन्द्रबीच अनेकाैँ चरणमा वार्तालाप पनि भएका थिए । प्रधानमन्त्री पद लिएर पञ्चायत प्रवेश गर्न लागेका गिरिजाप्रसादलाई तात्कालिक राजाले मन्त्रीभन्दा माथिको हैसियत दिन नसकिने बताएपछि राजा वीरेन्द्रसँग ‘बार्गेनिङ’ चलिरहँदा गिरिजाप्रसाद कोइरालाले आफ्ना निकटस्थहरुलाई पञ्चायतमा सहभागी हुन इसारा गरे । शेरबहादुर, विपिन र म लगायत पञ्चायतमा पस्न तयार भयौँ । यो सूचना कृष्णप्रसाद भट्टराईलाईसमेत दिइयो । हामीले विज्ञप्ती नै जारी गरेर बलबहादुर राइको अध्यक्षतामा ६३ जनाले पञ्चायतले गरेको निर्वाचनलाई सदूपयोग गरेर जाउँ भनेर वक्तक्य जारी गर्यौँ । तर देउवालाई किशुनजीले बेलायतमा ‘अब्जर्भर स्टुडेन्ट’ का रुपमा पढ्न पठाएका थिए र उनी जोगिए ।

पार्टी सभापति, कार्यकर्ता शुभचिन्तकलाई केही भन्नुहुन्छ ?
नेपालमा प्रजातान्त्रिकवादी इतिहास भएको पार्टी नेपाली कांग्रेस मात्र हो । प्रजातन्त्र परिपाटीलाई संस्थागत गरेर अघि बढ्ने पार्टी सिद्धियो भने त अधिनायवादी कम्युनिष्ट पार्टीले शासन गरिरहन्छ । त्यसको लागि हामीले जनतालाई प्रशिक्षित गर्नुपर्दछ । निराश भएका कार्यकर्तालाई अगाडि ल्याउन क्रियाशिल हुनुपर्दछ । प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले सरकारले नराम्रो काम गर्यो भने मौन बस्ने होइन । मौन बस्ने हो भने कांग्रेसको आवश्यकता किन पर्यो र ? एमाले र माओवादीबीच मेलमिलाप कन्टिन्यु भएन भने शेरबहादुर देउवा ज्योतिष भनेजस्तो पाँचौं पटक प्रधानमन्त्री नहोलान् भन्न सकिन्न । जे–जे भएपनि कम्तिमा कांग्रेसको विषयमा चियापसल, होटल लगायत सार्वजनिक स्थलमा नराम्रो टिका टिप्पणी गरेको सुन्न नपरोस भन्ने हो तर अहिले त्यही भइरहेको  छ ।

पार्टीलाई मजबुत बनाएर लैजान के गर्नुपर्छ त ?
पार्टी मजबुत बनाएर लैजान पार्टीभित्र देखिएको ग्रुपलाई जोड्न अब मध्यमार्गी बाटो खोज्नुपर्दछ । त्यो बाटो नखोजिए पार्टीभित्र दुई किनारा रहन्छ । त्यसले देशलाई हित गर्दैन । पार्टीभित्रका सबै साथीहरुको कुरा सुन्नुपर्दछ । बाह्रैटक्का गरेर हरेक निर्णय गर्दा परिवारलाई मुछ्नु हुँदैन ।

तपाईँको मत