एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर सोमबार, २०८३ | ११:३८:०० मा प्रकाशित
काठमाडौं । कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्याए । कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।
प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै चर्चामा रहे । शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो । टोलीलाई च्याम्पियन बनाउने क्रममा ऐरीले ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिए ।
ऐरीले यस संस्करणमा १० खेल खेल्दै २१७ रन बनाए । बलिङतर्फ उनले सात विकेट लिए । कप्तानका रूपमा टोलीलाई उपाधि दिलाउनाका साथै व्यक्तिगत प्रदर्शनमा प्रभाव छाड्न सफल ऐरी यस संस्करणका सफल कप्तान बने ।
उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको नेतृत्व पनि कम महत्त्वपूर्ण रहेन । उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्यो । रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए । गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका उनले यसपटक पनि आफ्नो प्रभाव जारी राखे ।
काठमाण्डु गोर्खाजका कप्तान करण केसीका लागि तेस्रो संस्करण सम्झनलायक रह्यो । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनायो । व्यक्तिगत प्रदर्शनमा करणले आठ खेलमा १० विकेट लिए भने ब्याटिङबाट ९० रन जोडे ।
चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर रजाले गरेका थिए । उनको नेतृत्वमा चितवन प्लेअफसम्म पुग्न सफल भयो । यद्यपि, व्यक्तिगत प्रदर्शनमा भने उनले अपेक्षाअनुसार प्रभाव पार्न सकेनन् । रजाले पाँच खेलमा ५६ रन बनाउँदा बलिङमा पाँच विकेट लिए ।
कर्णाली याक्सले प्रतियोगिताका क्रममा कप्तान परिवर्तन गरेको थियो । सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइयो ।
सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए । बलिङमा उनको प्रदर्शन अझ प्रभावशाली रह्यो । उनले आठ दशमलव ९० को इकोनोमी रेटमा १० विकेट लिए । यता, पहिलोपटक एनपीएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाए । यस संस्करणमा उनको उच्च स्कोर अविजित ९३ रन रह्यो ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यो संस्करण सुखद रहन सकेन । उनको नेतृत्वमा विराटनगरले प्लेअफमा स्थान बनाउन सकेन ।
पोखरा एभेन्जर्सले खराब प्रदर्शनपछि प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन ग¥यो । सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरेका थिए । लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।
कप्तान परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाए । बलिङमा पनि उनले छ विकेट लिए । नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट हात पारे ।
जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि भने यो संस्करण टोली र व्यक्तिगत दुवै हिसाबले चुनौतीपूर्ण रह्यो । उनको नेतृत्वमा जनकपुर अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो । तर, व्यक्तिगत प्रदर्शनमा हरमितले आफ्नो प्रभाव देखाए । उनले सात खेलमा ११ विकेट लिनाका साथै ब्याटिङमा ९० रन बनाए । रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- २२औं लेखनाथ महोत्सव पुस २ देखि
- २४ बुँदामा नेपाल-भारत संयुक्त वक्तव्य (पूर्ण पाठसहित)
- यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी
- नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा
- भारतमा मोदीद्वारा प्रधानमन्त्री बालेनको स्वागत, समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, विविध क्षेत्रमा सहकार्यबारे छलफल
- प्रधानमन्त्री बालेन शाह पुगे नयाँ दिल्ली
- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
- भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न सभापति गगन थापा विज्ञ टोलीसहित पुगे
- सुदूरपश्चिमलाई एनपिएलको उपाधि, मन्सेको किर्तिमानी शतक
प्रतिकृया दिनुहोस