पर्यटन

हिमाल आरोहणबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन, मनास्लुबाट मात्रै २२ करोड

काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा ४८ वटा हिमाल आरोहणका लागि १८८ टोलीलाई अनुमति दिँदै ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। हिमाल आरोहण अनुमतिबाट सरकारले उल्लेख्य राजस्व प्राप्त गरेको हो।

प्राप्त विवरणअनुसार मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ राजस्व सङ्कलन भएको छ। यो सूचीमा मनास्लुबाट प्राप्त राजस्व सबैभन्दा बढी छ।

त्यस्तै, धौलागिरि–१ हिमाल आरोहणका लागि अनुमति लिएका ३७ आरोहीबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ र मकालु आरोहणका लागि अनुमति लिएका तीन आरोहीबाट ६ लाख ८८ हजार ५० रुपैयाँ राजस्व प्राप्त भएको छ।

यसैगरी, हिम्लुङ हिमाल आरोहणका लागि अनुमति लिएका १३० जनाबाट ७९ लाख ७४ हजार २० रुपैयाँ सङ्कलन भएको छ।

आमादब्लम हिमाल आरोहणका लागि अनुमति पाएका टोलीका ४७६ जना आरोहीले सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत