गाउँ सहर

प्रधानमन्त्री आइतबार दिउँसाे भारत उड्दै, के–के छन् कार्यक्रम ?

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यस विषयमा औपचारिक जानकारी गराएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाह ३४ सदस्यीय भ्रमण मण्डलका साथ भारत जान लागेको जानकारी दिए।

राईका अनुसार मंसिर ६ गते आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवाको उडानबाट प्रधानमन्त्री शाह भारत प्रस्थान गर्नेछन्।

भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्। यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाह पनि भ्रमणमा सहभागी हुनेछन्।

सचिव राईका अनुसार निजी खर्चमा ५२ जना निजी क्षेत्रका व्यवसायीहरू पनि भ्रमण टोलीमा रहनेछन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जानकारी दिए ।

‘भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने औपचारिक दिवाभोजमा प्रधानमन्त्री बालेन्द्र साह सहभागी हुनुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले पनि उहाँसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ,’ उनले भने ।

उक्त फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण र आर्थिक साझेदारीका प्रयासबारे छलफल हुनेछ । भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायीको टोली सहभागी हुँदैछ ।

सचिव राईकाअनुसार व्यवसायीबीचको छलफलले दुई देशबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।

साथै, नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

‘प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ । भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरममार्फत दुवै देशका व्यवसायीबीच सहकार्य र लगानीका सम्भावनाबारे छलफल हुनेछ । यसले व्यापारिक सम्बन्ध विस्तार तथा ठोस आर्थिक उपलब्धि हासिल गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ,’ उनले भने, ‘नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आसन्न भ्रमणले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।’

भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत छ ।

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।

‘भ्रमणसम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिनेछ । भ्रमणलाई सफल बनाउन सञ्चारमाध्यमबाट सहयोग, सुझाव तथा सकारात्मक समाचार संप्रेषण गर्ने सञ्चारकर्मीहरूलाई परराष्ट्र मन्त्रालयका तर्फबाट धन्यवाद व्यक्त गरिएको छ,’ उनले भने ।

सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत