असी वर्षे वृद्धको सुपारीखेती ...
- १७ कार्तिक मंगलबार, २०८३ | ०७:३३:०० मा प्रकाशित
सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।
लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा बगान प्रत्येक बोटको फेदमा रङ्गाइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ । पुर्ख्यौली रूपमा खेती किसानी गर्दै आउनुभएका कार्कीले १५ वर्षअघि रहरले सुरु गरेको सुपारीखेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।
पुर्ख्यौली घर तेह्रथुम भए पनि उहाँको परिवार बसाइँ सरेर सुनसरी आएको थियो । उनले धरानमा प्रवेशिकासम्मको अध्ययन गरेका थिए । “लाहुरे बन्ने सपना पनि आएन, विदेश जाने सोच पनि भएन । खेती किसानी गरियो, धान, मकै लगाइयो”, कार्कीले भने ।
झापाको बिर्तामोड जाँदा त्यहाँको सुपारीखेती देखेपछि आफूलाई पनि रहर जागेको उनले बताए । “त्यहाँ काकाको सुपारी खेती देखे । अन्य किसानले गरेको खेती देखेर प्रेरित भए”, उनले भने । आजभन्दा १५ वर्षअघि १०० वटा सुपारीका बिरुवा ल्याएर रोपेँ । चार, पाँच वर्षपछि फल्न थाल्यो । त्यसपछि त्यही फलबाट आफैँले बिरुवा उत्पादन गर्दै गएँ र खेती विस्तार गरेँ । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको बगानमा झन्डै एक हजार २०० सुपारीका बोट छन् । सुरुमा रोपिएका बिरुवाले हरेक वर्ष फल दिँदै आएको छ भने बाँकी बिरुवा हुर्किरहेका छन् । सुरुमा रोपिएका बिरुवाबाट हाल उनले वार्षिक रु एक लाखभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै आएका छन् ।
“यहाँका सबै बिरुवाले एक, दुई वर्षभित्र फल दिन थाल्छ । रहर लागेर सुरु गरेको व्यवसाय राम्रो भएको छ । खेतीमा खुब जाँगर चल्छ, मलाई साह्रै खुसी लागेको छ”, उनले भने । सुनसरीमा पनि सुपारी खेती हुन्छ भन्ने धेरैलाई जानकारी छैन । पानी नजम्ने जमिन भए जुनसुकै ठाउँमा पनि सुपारीखेती गर्न सकिने उहाँ बताउनुहुन्छ । सुपारी उत्पादन भएपछि बजारको समस्या नहुने उनको भनाइ छ ।
हरेक वर्ष व्यापारी आफैँ बगानमै आएर बारी ठेक्कामा लिन्छन् र सुपारी पाकेपछि आफैँ आएर टिपेर लैजान्छन् । कहिलेकाहीँ साना व्यापारी खुद्रा किन्न आउँदा प्रतिकेजी रु ७० का दरले थोरैथोरै बिक्री गर्छु । “प्रायः व्यापारी दमकबाट आउँछन् र सुपारी लैजान्छन्”, उनले भने ।
सुपारीखेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार गर्न नपर्ने उनको अनुभव छ । वर्षमा एकपटक मल लगाउनुपर्छ । सुपारीको बोटको फेदमा चुन लगाउँदा कमिला र किराको प्रकोपबाट जोगाउन सकिने उनी बताउँछन् । चुन र मललगायत खेतीमा वार्षिक करिब रु २० हजार खर्च हुने गरेको कार्कीले बताए ।
धान र मकैखेतीको तुलनामा सुपारी खेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । “एक बिघामा धानखेती गर्दा धेरै दुःख गरेर पनि रु एक लाख आम्दानी गर्न सकिँदैन । सुपारी खेतीबाट भने राम्रो आम्दानी हुन्छ”, उनले भने ।
उनले बगानको रेखदेखका लागि तलब दिएर एक जना कामदार राखेका छन् । बाँकी काम भने उनी आफैँ र श्रीमती डम्बरकुमारी कार्कीले सहायता गर्छिन् । सुपारी खेतीमा भैँसीको गोबरसँगै डिएपी र पोटास मल प्रयोग गर्ने गरेको उनले बताए । यो खेतीबाट राम्रो आम्दानी हुने अनुभव सुनाउँदै कार्कीले व्यावसायिक खेती गर्न चाहने युवा यसमा लाग्दा झनै राम्रो हुने सुझाव दिन्छन् ।
“व्यवसाय गर्न चाहने युवाले सुपारीखेती गर्दा हुन्छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ । धेरै मेहनत पनि गर्नुपर्दैन”, उनले भने । कार्कीलाई आफ्नो बगानमा काम गर्न उत्तिकै जाँगर चल्छ । सुपारीखेती आम्दानीको माध्यम मात्र नभई दिन बिताउने र खुसी प्राप्त गर्ने आधार बनेको उनको भनाइ छ । “साह्रै राम्रो छ, दिनभरि यही बगानमा आनन्दले समय बिताउन सकिन्छ”, उनले भने ।रासस
प्रतिकृया दिनुहोस