त्रिवेणी इन्टरनेशनल कलेजमा बिदाइ कार्यक्रम
- १७ श्रावण आइतबार, २०८३ | १४:२५:०० मा प्रकाशित
पोखरा। त्रिवेणी इन्टरनेशनल कलेज ले एमविएस तथा विविएस चौथो सेमेस्टर पूरा गरेका विद्यार्थीहरूको बिदाइ कार्यक्रम शनिबार कलेज परिसर, पोखरा–२७ तालचोकमा सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै डा. रामनाथ न्यौपाने ले शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई सभ्य समाज निर्माण, व्यक्तित्व विकास र उज्ज्वल भविष्यको आधार भएको बताए। उनले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त त्रिवेणी इन्टरनेशनल कलेजले विगत डेढ दशकदेखि गुणस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्दै उत्कृष्टता, विश्वास र नेतृत्वको केन्द्रका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उल्लेख गरे। विविएस र एमविएस कार्यक्रमलाई व्यवहारिक दक्षता, नैतिक मूल्य र समयको आवश्यकतासँग जोडेर सञ्चालन गरेका कारण कलेज विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको भन्दै उनले संस्थालाई बधाई तथा थप सफलताको शुभकामना दिए।
कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराई ले संस्थाको सफलताको आधार सञ्चालक समितिको प्रतिबद्धता, अनुभवी प्राध्यापकहरूको शैक्षिक दक्षता र विद्यार्थीप्रति समर्पित कर्मचारीहरूको सेवा भावना रहेको बताए।

क्याम्पस प्रमुख डिल्लीराम पौडेल ले कलेजले शिक्षालाई कक्षाकोठामा मात्र सीमित नराखी अनुसन्धान, नवप्रवर्तन, अनुशासन, नैतिकता र व्यावसायिक दक्षतासँग जोड्दै समग्र शैक्षिक संस्कृतिको विकास गरिरहेको बताए। संस्थाका सबै निर्णय विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि समर्पित रहेको उनको भनाइ थियो।
विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष विवेक केसी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा छत्रधर आत्रेय ले पूर्वविद्यार्थीहरूको अनुभव, मार्गदर्शन र व्यावसायिक सञ्जालले वर्तमान विद्यार्थीलाई करियरका नयाँ अवसरसँग जोड्ने पुलको भूमिका खेल्नुपर्ने बताए। उनले समाजप्रति उत्तरदायी, उद्यमशील र राष्ट्रप्रेमी नागरिकका रूपमा स्थापित हुन विद्यार्थीहरूलाई प्रेरित गरे।
एमविएस चौथो सेमेस्टर पूरा गरेका विद्यार्थी विनोद विश्वकर्मा ले कलेजले नेतृत्व विकास, प्रभावकारी सञ्चार, प्रस्तुतीकरण कला, अनुसन्धानमुखी अध्ययन, सूचना प्रविधिको प्रयोग तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आफूहरूलाई सक्षम र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। विद्यार्थी कल्याणकारी समिति, एलुम्नाई एसोसिएसन तथा विभिन्न विद्यार्थी क्लबहरूको सक्रियताले सिकाइलाई जीवनसँग जोड्ने वातावरण निर्माण भएको उनको अनुभव थियो।
विद्यार्थी सागर तिवारी, अमिशा तिवारी, सहायक क्याम्पस प्रमुख सुनिलदत्त बराल तथा उपप्राध्यापक किशोर तिवारीले सञ्चालन गरेको कार्यक्रममा उपप्राध्यापक सत्यराज कँडेललाई सम्मान गरिएको थियो। साथै, गत फागुनमा आयोजित खेलकुद सप्ताहका विजेता विद्यार्थीलाई ट्रफी र मेडल प्रदान गरियो भने एमविएस तथा विविएस चौथो सेमेस्टर पूरा गरेका विद्यार्थीलाई मायाको चिनो वितरण गरिएको थियो।
सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा विविएस दोस्रो वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई ज्ञापन गर्दै साउन १८ गतेदेखि सुरु हुने विविएस प्रथम वर्षका नयाँ विद्यार्थीलाई शुभकामना व्यक्त गरिएको थियो। स्वागत मन्तव्य विविएस चौथो वर्षका विद्यार्थी स्वच्छन्द आत्रेयले राखेका थिए।
प्रतिकृया दिनुहोस