इतिहासमै पहिलो पटक बजेटभन्दा धेरै रेमिटेन्स
- ८ श्रावण शुक्रबार, २०८३ | १०:११:०० मा प्रकाशित
काठमाडाैं । गत आर्थिक वर्ष २०८२–८३ को जेठसम्ममा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो रकम नेपालको वार्षिक बजेटभन्दा धेरै हो ।
गत आर्थिक वर्ष बजेटको आकार १९ खर्ब ६४ अर्ब रुपैयाँ थियो । यस्तै, चालु आवको बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको छ । इतिहासमै पहिलो पटक बजेटभन्दा धेरै रेमिटेन्स भित्रिएको हो ।
पछिल्लो समय दक्ष र सीपयुक्त जनशक्ति नेपालबाट विदेशमा गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिटेन्सको रूपमा पठाउने गरेका छन् । सरकारले दिएको प्रोत्साहन तथा रेमिटेन्स पठाउने प्रक्रियामा भएको सहजताका कारण पनि रेमिटेन्स वृद्धि भएको देखिन्छ । गत आवमा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ९२ हजार हाराहारी छ ।
अघिल्लो आवको तुलनामा गत आवको ११ महिनामा रेमिटेन्स ३.२ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ८० करोड पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा १५.६ प्रतिशतले बढेको थियो । तथ्यांक अनुसार, २०८३ जेठमा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । जबकी २०८२ जेठमा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँमात्र भित्रिएको थियो ।
उसो त, विगतका केही वर्षदेखि नै नेपालमा रेमिटेन्स भित्रिने क्रम बढिरहेको छ । गत आवको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएकोमा हरेक महिना बढ्दै २०८३ जेठसम्ममा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
रेमिटर्सहरूका अनुसार, सरकारले पछिल्ला केही वर्षयता विदेशमा रहेका नेपालीहरूमा सचेतना वृद्धि र प्रोत्साहनका काम गरिरहेकाले रेमिटेन्स बढिरहेको हो । राष्ट्र बैंकले २०७८–७९ को मौद्रिक नीतिदेखि रेमिटेन्सको पैसा बैंक वा वित्तीय संस्थामा मुद्दती वा बचत खातामा जम्मा गर्दा साधारण निक्षेपमा पाइने ब्याजमा १ प्रतिशत थप गरेर ब्याज दिँदै आएको छ । सोही कारण विदेशमा रहेका धेरै नेपालीहरू यसतर्फ आकर्षित भएका हुन् ।
प्रतिकृया दिनुहोस