गाउँ सहर

ग्याँस, पेट्रोल, डिजेललगायत सबैमा फेरि बढ्याे मूल्य, मारमा सर्वसाधारण

  • २७ चैत शुक्रबार, २०८२ | ०६:२८:०० मा प्रकाशित

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

नेपाल आयल निगमले आज बिहीबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ तथा डिजेल मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरेको हो।

यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

‘भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ। हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६।६५, डिजेलमा प्रति लिटर रु.१०९।५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६।३७घाटा रहेको छ। निगमलाई पाक्षिक रुपमा कुल जम्मा रु.१० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिन्छ’ आयल निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७।०० डिजेल/मट्टितेलमा प्रति लिटर रु.२५।०० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६।०० ले वृद्धि गरिएको छ’ निगमले भनेको छ ।

अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ ।

मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ। निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।

मारमा सर्वसाधारण

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिसंगै सर्वसाधारणहरु भने झनै महंगीको मारमा धकेलिएका छन् । । पेट्रोलियम पदार्थको मुल्यवृद्धि हुँदा हरेक उपभोग्य वस्तुहरुको मुल्यमा वृद्धि हुनु स्वभाविक नै हुने गर्दछ । तर, यसले गर्दा समाजको पिँधमा रहेका श्रमजीवी वर्गलाई भने जीवनयापन नै गर्न मुस्किल बनाउने अवस्थामा पुर्‍याएको छ । 

सरकारलाई सर्वसाधारण नागरिकको अभिभावक मानिन्छ। तर जुनसुकै दलको सरकार आए पनि नेपाली जनताका लागि अभिभावक बनेको महसुस भएको छैन। अहिले दैनिकजसो इन्धनको मूल्य आकासिएको छ। आगामी दिन झनै भयाबह हुने अवस्था देखिन्छ।

तपाईँको मत