सोह्र श्राद्ध (पितृ पक्ष) आजबाट सुरु, यसको महत्व
- गाउँ सहर संवाददाता
- २३ भदौ सोमबार, २०८२ | ०७:०४:०० मा प्रकाशित

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु हुँदै छ ।
पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।
सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन् ।
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात् मंसिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा.डा. भट्टराईले जानकारी दिए ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।
किन १६ दिन त ?
पितृपक्ष भाद्र पूर्णिमादेखि आश्विन अमावस्यासम्म १६ दिनको हुन्छ। धर्मशास्त्रहरूका अनुसार प्रत्येकको मृत्यु यी १६ तिथि बाहेक अन्य दिन नहुने हुनाले श्राद्ध पक्ष पनि १६ दिनकै हुन्छ। यही समयमा श्राद्ध हुनुको एक मनौवैज्ञानिक पक्ष के छ भने यो अवधिमा हामी आफ्ना पितृहरू समक्ष श्रद्धा भाव पठाउँछौँ। यो पक्ष वर्षाकाल सकिए लगत्तै आउने हुँदा आकाश निर्मल हुन्छ, जसका कारण हाम्रो संवेदना एवं प्रार्थना आवागमन हुनका लागि मार्ग सुलभ हुन्छ।
ज्योतिष र धर्मशास्त्रको भनाइमा पितृहरूका लागि यो समय किन पनि श्रेष्ठ मानिएको हो भने यो समय सूर्य कन्या राशिमा रहन्छ जुन ज्योतिष गणनाले हेर्दा पितृहरूको अनुकूल हुन्छ। यो पक्षमा पनि केही विशेष दिन छन्। सौभाग्यवती स्त्रीको मृत्यु भएमा उनको श्राद्ध नवमी तिथिमा गर्नु पर्छ । यो तिथिलाई अविधवा नवमी मानिएको छ। पूर्वीय दर्शनमा नौको संख्या शुभ मानिन्छ। सन्यासीहरूको श्राद्ध तिथि द्वादशीलाई मानिन्छ। हातहतियारद्वारा मारिएका मानिसको तिथि चतुर्दशी मानिएको छ।
हरेक तिथिको फरक महत्व
जसले पूर्णिमाका दिन श्राद्ध गर्छ उसको बुद्धि, पुष्टि, स्मरणशक्ति, धारणाशक्ति, पुत्रपौत्रादि एवं ऐश्वर्य वृद्धि हुन्छ। साथै उसले यो पर्वको पूर्ण फल भोग गर्न पाउँछ। प्रतिपदा धनसम्पत्तिका लागि निर्दिष्ट छ, यो दिन श्राद्ध गर्नेवालाको प्राप्त वस्तु नष्ट हुँदैन। द्वितीयाको दिन श्राद्ध गर्ने व्यक्ति राजा समान हुन्छ। उत्तम अर्थको प्राप्ति तथा शत्रु र पाप नाशको चाहना गर्नेले तृतीयाको दिन श्राद्ध गर्नुपर्छ। पञ्चमी तिथिका दिन श्राद्ध गर्दा उत्तम लक्ष्मी प्राप्ति हुन्छ। षष्ठी तिथिका दिन श्राद्ध कर्म सम्पन्न गर्ने व्यक्ति देवताद्वारा पुजिन योग्य हुन्छ। सप्तमी तिथिका दिन श्राद्ध गर्नेलाई महान यज्ञको पुण्यफल प्राप्त हुन्छ भने ऊ गणको स्वामी बन्न सक्छ। अष्टमीका दिन श्राद्ध गर्ने व्यक्तिले सम्पूर्ण समृद्धि प्राप्त गर्छ। नवमी तिथिमा श्राद्ध गर्नेले प्रचुर ऐश्वर्य एवं मन अनुकूलकी श्रीमती प्राप्त गर्छ। दशमी तिथिमा श्राद्ध गर्ने मानिसले ब्रह्मत्व लक्ष्मी प्राप्त गर्छ। एकादशीका दिन गरिने श्राद्ध सर्वश्रेष्ठ दान हो। यसबाट समस्त वेदको ज्ञान प्राप्त हुनुका साथै कर्ताको सम्पूर्ण पापकर्म विनाश हुन्छ र निरन्तर ऐश्वर्य प्राप्ति हुन्छ। द्वादशी तिथिमा श्राद्ध गर्दा राष्ट्र कल्याण तथा प्रचुर अन्न प्राप्ति हुने कुरा बताएको छ। त्रयोदशीका दिन गरिने श्राद्धबाट सन्तति, बुद्धि, धारणाशक्ति, स्वतन्त्रता, उत्तम पुष्टि, दीर्घायु तथा ऐश्वर्य प्राप्ति हुन्छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन पारित, फेरियाे झण्डामा अंकित हँसिया हथौडाको रंग
- नेप्से परिसूचक र काराेबार रकम सर्लक्कै घट्याे
- सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन - कांग्रेस
- आज खग्रास चन्द्रग्रहण, कतिबेला देखिन्छ ?
- सुर्तीजन्य पदार्थमा न्यून कर वृद्धि गरेकाेमा असन्तुष्टि
- अझै ६१ स्थानीय तहले ल्याउन सकेनन् बजेट
- इन्द्रजात्रा पर्व मनाइँदै आज
- रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन
- डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
- सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय, के-के चल्छ अब नेपालमा ?
प्रतिकृया दिनुहोस