पूर्वाधार

हेवा खोलामा बेलिब्रिज निर्माण सम्पन्न

  • २८ श्रावण बुधबार, २०८२ | ०८:२५:०० मा प्रकाशित

काठमाडाैं । मेची राजमार्गको पाँचथर सडकखण्डको हेवा खोलामा बेलिब्रिज जाेडिएको छ। मंगलबार बेलिब्रिज जडानको सबै काम सकिएको हाे ।

सडक डिभिजन इलामका प्रमुख इञ्जिनियर पवन भट्टराईका अनुसार पुलको लम्बाई ७० मिटर छ । जसलाई नेपालमा हालसम्म जडान भएकोमध्ये सबैभन्दा लामो भनिएको छ। जडानको काम सकिए पनि भार बहन क्षमताको परीक्षण र अन्य प्राविधिक काम बाँकी रहेको उनको भनाइ छ ।

बेलिब्रिजको क्षमता २५ टन छ । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने उक्त पुल भारत सरकारको सहयोगमा निर्माण भएको हो ।  पुल निर्माणमा २१ जना भारतीय प्राविधिकसहित मजदुर तथा सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर खटिएका छन् । 

बुधबार भार परीक्षण गरेर अन्य प्राविधिक काम गरेसँगै पुल सञ्चालनमा ल्याउने तयारी सडक डिभिजन इलामको छ । 

यसअघि २०८० असार २ गतेको बाढीले यहाँको पक्की पुल बगाएको थियो। त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएको थियो । २०८२ जेठ ३१ गते भने जडान भइरहेको बेलिब्रिज भाँचिदा तीन जना मजदुरको ज्यान गएको थियो ।

बेलिब्रिज निर्माण दोभान सुपर सौगात लाइट बिल्डर्सले तीन करोड ५० लाख रुपियाँमा ठेक्का लिएर गरेको हो । पुलका सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । 

पुुल सञ्चालनमा आएपछि पाँचथरका तीन स्थानीय तह र सिंगो ताप्लेजुङको यातायात सहज हुनेछ । हाल अस्थायी डाइभर्सनमार्फत सवारीसाधन सञ्चालनमा भइरहेको छ । 

तपाईँको मत