कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न थप्याे वैशाख मसान्तसम्मको समय
- गाउँ सहर संवाददाता
- १६ बैशाख मंगलबार, २०८२ | १८:२०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको लागि मातहतका समितिलाई वैशाख मसान्तसम्मको समय दिएको छ ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले वैशाख मसान्तसम्मको समय दिएको समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । उक्त समितिमा चौधरीसहित सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) समेत सदस्य छन् ।
मसान्तसम्म नसकेमा एक्सेस स्वतः बन्द गर्ने निर्णय पनि समितिले गरेको चौधरीको भनाइ छ । नवीकरणको काम सकेपछि मात्रै नयाँ सदस्यताबारे प्रक्रिया अघि बढाउने निर्णयसमेत समितिको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत पुस १९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर चैत मसान्तसम्म नवीकरण गरिसक्न निर्देशन दिएको थियो ।
केन्द्रीय कार्यसमितिको सोही निर्देशन बमोजिम समिति संयोजक महामन्त्री थापाले गत माघ ३ गते ७७ वटै जिल्ला समिति सभापतिहरूलाई परिपत्र गर्दै चैत २९ गते शुक्रबार दिउँसो ३ बजेसम्म क्रियाशील सदस्यता नवीकरण गरी सम्पूर्ण कागजात केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएका थिए ।
परिपत्रमा बोधार्थ र कार्यार्थ सबै प्रदेशका सभापति, सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै प्रदेशसभा क्षेत्रीय कार्यसमिति, सबै पालिका सभापति र सबै वडा सभापतिलाई दिइएको थियो ।
विवाद रहेका जिल्लामा नवीकरण नटुंगिएपछि चैत मसान्तमा १५ दिन म्याद थप्ने निर्णय समितिले गरेको थियो । त्यो समयमा पनि नसकेपछि आज पुनः वैशाख मसान्तसम्मको समय दिने निर्णय समितिले गरेको हो ।
कांग्रेसमा पार्टीको अनुशासन समितिले पार्टीका विभिन्न इकाइले गत निर्वाचन र उपनिर्वाचनमा बागी उठेका र उनीहरूको प्रस्तावक, समर्थक बसेका तथा सहयोग गरेकाहरूविरुद्ध परेको उजुरी फर्स्यौट नगरिदिँदा क्रियाशील नवीकरण प्रभावित बनिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस