दृष्‍टिकोण

स्वस्थताका लागि अनिवार्य खेलकुद

धेरैले पढेकै कुरा हो, ‘स्वास्थ्य नै धन हो’ । अहिले ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भनिन्छ । नारामा जेसुकै भनिएपनि समग्रमा ‘जीवनका लागि खेलकुद’ नै हो । यसर्थ राष्ट्र, स्वास्थ्य र खेलकुद एक आपसमा अन्तर्निहित छ । मानिसको उत्पत्तिको उद्गम बिन्दुदेखि अन्तिम सास रहेसम्म स्वस्थ स्वास्थ्य अति नै अपरिहार्य हुन्छ । कुशल कार्य सम्पादन गर्न शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन खेलकुद र व्यायम जरुरी छ ।

खेलले हामीलाई स्वस्थ राख्न मात्र योगदान गर्दैन, वर्तमान युगको सङ्कीर्णवादी सोचविरुद्ध हामीलाई निष्पक्ष, सहिष्णु र विनम्र बनाएर उपयोगी मानव संसाधनको रूपमा पनि परिवर्तित गर्दछ । वर्तमान परिवेश र जीवनशैलीमा आज मानिस कैयन प्रकारका रोगले ग्रस्त भइरहेका छन् । यस परिवेशमा पनि खेलको महत्व कति छ प्रस्टै हुन्छ ।

असल जीवन जिउनको लागि राम्रो स्वास्थ्य हुनु आवश्यक छ । जसरी शरीरलाई स्वस्थ र रोगरहित राख्न व्यायाम आवश्यक हुन्छ, त्यसैगरी खेलकुदको पनि स्वस्थ जीवनको लागि अत्यधिक महत्व छ । खेल केटाकेटी र युवायुवतीहरूको मानसिक तथा शारीरिक विकासका लागि त झन अति आवश्यक छ ।

आजको नयाँ पुस्तामा किताबी ज्ञान सँगसँगै खेलप्रति रुचि जगाउनु पनि आवश्यक छ । खेलकुद एउटा यस्तो विषय हो जुनबारे बच्चा, युवादेखि वृद्धाअवस्थाका व्यक्तिमा पनि उत्तिकै चाख हुने गर्दछ । मानवजातिले समाजमा बस्न थालेदेखि नै मनोरञ्जनको रूपमा विभिन्न प्रकारका खेलकुदको विकास गर्न थालेको पाइन्छ ।

खेलकुद मानव जीवनको अभिन्न अंग हो । यसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई मजबुत बनाउँछ र अनुशासन, सहनशीलता, परिश्रम तथा आत्मविश्वास बढाउँछ । स्वस्थ शरीर र अस्थिर मनको लागि खेल आवश्यक हुन्छ, जसले व्यक्तिलाई चुस्त, तन्दुरुस्त तथा ऊर्जावान बनाउँछ । 

नेपालमा पनि विभिन्न प्रकारका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलहरू हुने गर्दछन् । विद्यालय तहदेखि अन्तर्राष्ट्रियसम्म खेलिने होस् वा गाउँघरमा खेलिने डण्डी बियो, कबड्डी, कुस्ती, बाघचाल, दौड आदि नै अहिले व्यवसायिक खेल भएका छन् । फुटबल, क्रिकेट, गल्फ, भारोत्तोलन, कराते, टाइक्वान्डो, उशु आदि खेलहरूमा अझसम्म पनि नेपाल निकै अगाडि छ भने पौडी, ब्याडमिन्टन, भलिबल, टेबलटेनिस, दौड आदि धेरै खेलहरूमा नेपाल यस क्षेत्रको अग्रणी मध्येको एक हुन सफल भइसकेको छ । 

खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्न सकिन्छ । स्वस्थ व्यक्तिले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छ । एउटा कुशल अनुशासित स्वस्थ शरीर, स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादन गर्न सक्छ । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन । मान्छे स्वस्थ हुन आवश्यक छ । स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख हो, आनन्द हो । नेपालकै कुरा गर्ने हो भने पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धन हुन् वा क्यान्सर रोगलाई जितेर विश्व शारीरिक सुगठनमा मुलुकलाई रजत पदक दिलाएकी रजनी श्रेष्ठ हुन्, उनीहरुले खेलकुदमार्फत नै स्वास्थ्यसँगसँगै राष्ट्रको चिनारीमासमेत इँटा थप्ने काम गरेका छन् ।

विशाल जनसंख्या भएका मुलुकमा राज्यले पनि खेलकुदलाई प्रोत्साहन दिएकोले यी मुलुकहरूमा खेलकुदको विकास निकै धेरै भएको छ भने खेलाडीहरू पनि समृद्ध भएका छन् । नेपालका महिला तथा पुरुष खेलाडीहरूले विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पछिल्ला समय राज्य विभिन्न खेलकुद निकायका बाहेक निजी क्षेत्र तथा विभिन्न राजनीतिक दल र तिनका भातृसंगठनहरुले पनि युवाहरुलाई खेलकुदमा आकर्षित गर्न राष्ट्रिय राजनीतिक व्यक्तित्वहरुको नाममा खेलकुद प्रतियोगिताहरु आयोजना गर्न थालिएका छन्, जुन प्रशंसायोग्य मान्न सकिन्छ । जसले नयाँ खेलाडी उत्पादन र स्वस्थ जीवनको लागि पनि योगदान पुग्दछ ।

निजी क्षेत्रको योगदान पनि बिस्तारै खेलाडीको जीवनस्तरमा अभिवृद्धि हुनुका साथै खेलकुदमा पनि विकास भइरहेको छ भने बेरोजगारीका कारण कैयन् कुशल खेलाडीहरू विदेशमा पलायन हुने क्रम रोकिएका पनि छन् । संघीय, प्रदेश र स्थानीय सरकारहरूले मुलुकभर आवश्यक खेलकुद पूर्वाधारको दीगो विकास गर्नुका साथै खेलाडीहरूको लागि तालिम प्रतिष्ठान तथा रोजगारीको पनि अवसर मिलाउने प्रयासको पनि थालनी भइरहेको छ ।

एउटा मानिसलाई ज्ञानको लागि जसरी शिक्षा चाहिन्छ, स्वस्थ हुन खेलकुद पनि उत्तिकै आवश्यक छ । शिक्षाजस्तै मानव जीवनका लागि खेलकुद आधारभूत आवश्यकता हो । शिक्षाले मस्तिष्क स्वस्थ बनाउँछ खेलकुद शारीरिक, मानसिक, चरित्र र आत्मिक विकासमा निहित छ । स्वस्थ शरीर तबमात्र सम्भव छ जब ऊ गतिशील रहन्छ । त्यसैले, खेल र अभ्यासहरू प्राकृतिक रूपमा संसारको हरेक देशमा कुनै न कुनै रुपमा छ । यदि जीवन छ भने मात्र संसार छ । यहाँ जीवन भनेको स्वस्थ शरीर हो । त्यसकारण, हरेक समाज, राष्ट्रले आफ्ना नागरिक स्वस्थ हुन् भन्ने चाहना पनि राख्दछन् । यसर्थ, पहिलो खुशी स्वस्थ शरीर हो, जुन खुशी केवल खेल र व्यायामद्वारा मात्र प्राप्त हुन्छ ।

खेलहरू अप्रत्यक्ष रूपमा मानसिक, चरित्र र आत्मिक विकाससँग सम्बन्धित छन् । यसैले त खेलहरू प्रत्येक स्कूलमा व्यवस्था गरिन्छ । शारीरिक गतिले शरीरलाई बलियो, सहज र दिमाग प्रशन्न बनाउँछ । शरीरमा रक्त संचारको गति बढाउँछ । अधिक अक्सिजनको आपूर्तिका कारण, जीवन शक्ति बढ्छ । त्यसकारण खेलहरूले हाम्रो शरीरलाई बलियो बनाउँदछ ।

खेलकुद बिनाको शिक्षा अपुरो नै रहन्छ । खेलकुदले चरित्र विकासमा योगदान पु¥याउँछ । खेलले सहिष्णुता, धैर्य र साहस र सामूहिक सद्भावको भावना निर्माण गर्दछ । यी विशेषताहरुले नै मानव शिक्षित र उच्च नागरिक बन्न सक्दछन् । शिक्षाको मार्गमा कठिनाइहरू, अवरोधहरू खेलकुदमार्फत आत्मविश्वास निर्माण गरि फेरि उठ्न सकिन्छ, विजय हासिल गर्न सकिन्छ भन्ने सिक्न सकिन्छ । खेल बिना, शिक्षा र जीवन अपूर्ण छ । विद्यार्थीको जीवन अध्ययन, खेलकुद, खुशी र आनन्दको मार्ग हो । प्रत्येक देशमा खेल शिक्षाको एक आवश्यक हिस्सा भएको छ । देशको भविष्यका पुस्तालाई स्वस्थ राख्न खेलकुदमा सहभागी अनिवार्य भएको छ । 

जसले खेलकुद वेवास्ता गर्छन्, उनीहरू धेरै रोगहरूको शिकार हुन्छन् । खेलकुद र अन्य अभ्यासहरूले हामीलाई संयम र अनुशासन सिकाउँदछ । यदि हामी खेलमा भाग लिन्छौं भने हामीले यसको नियमहरू पालना गर्नुपर्ने हुन्छ । यस तरिकाले, अनुशासनमा बस्दा हाम्रो जीवनमा लाभ मिल्दछ । खेलले अनुशासन बाहेक हामीलाई सहयोगको भावना पनि सिकाउँछ । प्रत्येक खेल भित्र, हामीले हाम्रो टीमका खेलाडीहरूसँग मिलेर जित्ने प्रयास गर्नुपर्दछ भन्ने एक अर्कालाई सहयोग गर्नुपर्ने भावना सिर्जन गर्दछ । जसले सहयोग र संगठनलाई शक्ति प्रदान गर्दछ, जुन पछि राष्ट्रिय एकता र देश सेवा जस्ता उत्तम भावनाहरूमा मद्दत गर्दछ । मानिसको सम्पूर्ण जीवन खेलको संसार जस्तो हो । खेलकुदले हाम्रो जीवनको सफलता असफलता व्यवहार गर्न सिकाउँछ । प्रतिस्पर्धाको सामना गर्न सिकाउँछ । आशावादी दृष्टिकोणबाट जीवनलाई हेर्न सक्ने क्षमता जगाउँछ । 

खेल यस्तो हुन्छ कि मांसपेशीहरूले मांसपेशीहरूलाई पूर्ण रूपमा सशक्त बनाउँदछ । हृदयलाई ऊर्जाले भरिदिन्छ र मस्तिष्कमा ताजागीपन दिन्छ । खेल उमेर अनुसार हुनुपर्दछ । बुढेसकालमा हिँड्नु राम्रो खेल हो वा चेस जस्तो खेलकुदको खेलकुद छ, जसमा बुद्धिको कसरत छ । खेलकुदले शरीरलाई सक्रिय बनाउने मात्र होइन, सामाजिक सम्बन्ध पनि बलियो बनाउँछ । जीवनमा सहनशीलता र धैर्य बढाउँछ । डिप्रेसनसहित मानसिक रोगको जोखिम पनि कम गर्छ । मनोवैज्ञानिक तनावहरूलाई कसरी राम्रोसँग नियन्त्रण गर्ने भनेर सिकाउँछ र नकारात्मक ऊर्जालाई नष्ट गर्न मद्दत गर्दछ ।

खेलकुद गतिविधिहरूले नयाँ र गहिरो मित्रताको निर्माणलाई बढावा दिन्छ र व्यक्तिहरू बीचको सम्बन्धलाई बलियो बनाउँछ । यसले उनीहरूलाई धैर्यता, आत्मविश्वास, लगनशीलता, टोली नेतृत्व, सहनशीलता र टोली कार्य जस्ता सकारात्मक गुणहरूको विकास हुन्छ । खेल अभ्यासमा सिद्धान्त र नियमहरूप्रति व्यक्तिको प्रतिबद्धताले उसलाई सामान्य रूपमा कानूनको सम्मान गर्न सिकाउँछ । जसले गर्दा सामाजिक कानुनी मर्यादाभन्दा बाहिर उनीहरु जान सक्दैनन् । साथै, खेलकुद गतिविधिहरूले हानिकारक बानीहरू जस्तै धुम्रपान र अपराध दरहरू कम गर्न र फुर्सदको परिणामको रूपमा उत्पन्न हुने अनैतिक कार्यहरूबाट बच्न प्रमुख भूमिका खेल्दछ । साथै, यी गतिविधिहरूले दैनिक जीवनको दबाबको परिणामस्वरूप तनाव कम गरेर पारिवारिक बन्धनलाई बलियो बनाउन योगदान गर्दछ ।

वर्तमानको बदलिँदो परिवेशले के प्रस्ट गरेको छ भने खेल मानिसको विकासमा सहायक बन्छ, बाधक होइन चिनारी प्राप्त गर्न सकिन्छ ।  अब त खेल स्वास्थ्यको लागि मात्र नभई रोजगार, इज्जत र सम्मान प्राप्तिका लागि पनि देखिएको छ । विकसित मुलुकहरु खेलकुदको व्यवसायिकरणबाट अर्थतन्त्रमा आर्थिक सुधारका कार्यक्रममा ठूलो योगदान पु¥याएको देखिन्छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता वा महोत्सवहरुले भौतिक पूर्वाधारमा लगानी बृद्धि हुने, रोजगारी सृजना हुने, वैदेशिक लगानीको सुनिश्चित भई अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्ने सम्भावना बोकेको हुन्छ । त्यसैले खेलकुद क्षेत्रको विकास द्रुत गतिबाट अगाडि बढ्न आवश्यक छ । स्वस्थ स्वास्थ्य, आर्थिक विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा एकजुट हुन अब ढिला नगरौँ ।

गाउँ सहर संवाददाता

तपाईँको मत