शिक्षा

रामेछापकाे हिमाल छेउका लाहाछेवारका विद्यार्थीलाई 'डे बोर्डस' कार्यक्रम

रामेछाप । रामेछापकाे उमाकुण्ड गाउँपालिकाको अन्तिम तथा उत्तरी मानव बस्ती वडा नं-१, लाहाछेवारका बालबालिकाका लागि 'डे बोर्डस' मा राखी अध्ययन अध्यापन गर्नका लागि छात्रवास उद्घाटन गरिएकाे छ । 

समुद्री सतहदेखि २७५० मिटरमा रहेको लाहाछेवारस्थित श्री हिमालय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी गाउँपालिका तथा वडाको सहयोगमा विद्यार्थीहरूलाई विद्यालयमै बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म 'डे बोर्डस' का लागि छात्रावासकाे व्यवस्था गरिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ग्युर्मे शेर्पाले बताए ।

अध्यक्ष शेर्पाको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सावित्री सुनुवारको प्रमुख आतिथ्यमा वडा नं-१, का वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक ङावातिण्ड शेर्पा, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख वासुदेव मश्राङ्गी, १ नं वडा अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापकहरू, पदाधिकारीहरू, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक, विद्यार्थीहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएको हाे ।

छात्राबासमा विद्यालयमा कार्यरत शिक्षकहरूलाई आवासीय रूपमा बस्ने व्यवस्था मिलाइएको छ भने बालबालिकालाई निःशुल्क खाने व्यवस्था गाउँपालिकाले गरिएको छ ।

विद्यालयमा इन्टरनेट तथा विद्युत जडान, कम्प्युटर, प्रिन्टर र बालबालिकालाई चिसोबाट बचाउन हिटरकोसमेत व्यवस्था गरिएको छ ।

साथै, सोही कार्यक्रममा विद्यालयमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने घोषणा समेत गरिएको छ ।

साे अवसरमा विविध विषयमा छलफल तथा अन्तरक्रिया गरि वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाई सुधारका लागि निर्णयसमेत गरिएको वडा अध्यक्ष  ङावातिण्ड शेर्पाले बताए ।

छात्राबासले बालबालिकाकाे अध्ययनमा सघाउ पुग्ने विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत