जिन्दगीको अधुरो कथा: देश छोड्न विवश सपनाहरू
- सन्तोष सिम्खडा
- ४ पौष बिहीबार, २०८१ | १२:४१:०० मा प्रकाशित

एकपटक सोचेको थिएँ-नेपालमै बसेर बिहान सन्तानको हात समाउँदै स्कुल पुर्याउने, साँझ उनीहरूको हाँसोमा आफ्नो दिनको थकान बिर्सने। जति दु:ख परेपनि, हाड घोटेर भएपनि छोराछोरीलाई उज्यालो भविष्य दिन सकूँ।
तर यो सपना मात्र रह्यो। रातको आठ बजे मेरी श्रीमतीले आठ महिनाको छोरोलाई दूध खुवाएर झलुङ्गोमा सुताइन्। निदाएको मासुम अनुहारमा कुनै चिन्ता थिएन, सायद सपनामा बाबुआमाको साथ खोजिरहेको थियो। तर त्यो रात, मेरी श्रीमतीले आँसु पिउँदै, देशको माटो, सन्तानको साथ र हाम्रो परिवारको खुशीलाई पछाडि छोडेर बिदेश हिँडिन्।
म पनि धेरै दिन टिक्न सकिनँ। दुई वर्ष नपुग्दै, म पनि विवश भएर विदेशतिर लागेँ। मैले छोराको पहिलो पाइला हेर्न सकिनँ। छोरीले बाबुको हात समाएर स्कुल जान सिक्दा, म परदेशको कडा भूमिमा आफ्नो बाँच्नुपर्ने संघर्षले थिचिइरहेको थिएँ। आज मेरा सन्तान बा-आमाको माया र संरक्षणमा छन्। छोरो हुर्किँदैछ। छोरीले बुबाआमाको अनुपस्थितिको अर्थ बुझ्न थालेकी छिन्। तर हरेक रात, निदाउनुअघि उनीहरूको अनुहार मानसपटलमा आउँछ। ती यादले आँखा रसाउँछ, तर परदेशी बाबुका आँसुमा कसले मलम लगाइदिने?
म जस्तै लाखौं नेपाली, जुन भूमि छोड्न कहिल्यै चाहँदैनथे, आज आफ्नो देशको बेथितिका कारण परदेशिन विवश छन्। सपना त देशमै देखेका थिए-अग्ला हिमालको छायाँमा, हरियो फाँटको काखमा। तर शासन व्यवस्था, भ्रष्टाचार र अराजकताको दुश्चक्रले हाम्रो सपना ध्वस्त पारिदियो। नेताहरूका भाषण मिठा लाग्छन्, तर तिनको कार्य गन्हाउने भएको छ। देशका गाउँहरू युवाविहीन छन्, अनि शहरहरू अस्थिर। शिक्षित युवाहरू विदेशमा थाल, चप्पल र सिसा माज्न बाध्य छन्। जसले सत्ताको बागडोर सम्हाल्नुपर्थ्यो, तिनले कुर्सीको व्यापार गर्न थाले।
भ्रष्टाचार, बेरोजगारी, र दण्डहीनताको कर्कश घेराले देश थिलथिलो छ। विदेशबाट पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र ब्यूँताइरहेको छ, तर परदेशीहरूकै पीडा बुझ्ने कोही छैन। हाम्रा आँसुमा तिनीहरूका ऐशआरामका महल ठडिएका छन्। परदेशीको जिन्दगी दुई पाटामा विभाजित हुन्छ। एउटा पाटोमा परिवारप्रतिको माया छ, जुन दिनहुँ टाढिँदै गएको छ। अर्को पाटोमा त्यो सपना छ, जुन आफ्नो देशको भविष्य उज्यालो बनाउने थियो। तर दुबै अधुरो रहन्छ।
देशका शासकले परदेशीको आँखाको नुन चाखेको भए सायद तिनीहरूले आफ्ना कुर्सीमात्र होइन, आफ्नो जिम्मेवारी पनि देख्थे। सायद हाम्रो सपनाले यति अधुरोपन महसुस गर्नुपर्दैनथ्यो। यो अधुरोपनलाई हटाउन अब हामी, परदेशीहरू, जाग्नुपर्छ। कुर्सीका खेलाडीहरूलाई जिम्मेवार बनाउने जिम्मा अब हाम्रो हो। देशमा रोजगारी सिर्जना गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, र युवालाई देशमै राख्ने वातावरण बनाउनका लागि सामूहिक आवाज उठाउनुपर्छ।
देश बनाउन, साँचो अर्थमा, परदेशीको पीडा बुझ्ने नेतृत्व चाहिन्छ। हाम्रो सपना अधुरो हुनुपर्दैन। हाम्रो सन्तानले हाम्रै माटोमा हिँड्न पाउने अधिकार छ। "परदेशको सिसा माजेर पठाएको रेमिट्यान्सले देश चले पनि, हाम्रो आँसु कहिल्यै सकिँदैन। हाम्रो आँसुको मूल्य चुकाउने समय आयो।" हाल जापान टोकियो
प्रतिकृया दिनुहोस