खेल

पाकिस्तानलाई हराउॅंदै नेपाल सेमिफाइनलमा

काठमाडौं । एसिसी यु-१९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु-१९ लाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

१ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ जोडिन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । 

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् ।

नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिए पनि त्यसपछि पाकिस्तानका ब्याटरहरु क्रिजमा जमेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो । 

महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडिन् ।

नेपालका लागि कप्तान पूजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट आफ्नो नाममा गरे ।

नेपालले मंगलवार भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत