विश्व

सैन्य शासन घोषणा विफल भएपछि पक्राउ परेका दक्षिण कोरियाका पूर्वमन्त्रीद्वारा 'आत्महत्याको प्रयास'

  • २६ मङ्सिर बुधबार, २०८१ | १३:३६:०० मा प्रकाशित

काठमाडाैं । दक्षिण कोरियामा गत साता राष्ट्रपतिले गरेको सैन्य शासन घोषणाका लागि जिम्मेवारी लिँदै पदत्याग गरेका तात्कालिक रक्षामन्त्रीले आत्महत्या गर्न प्रयास गरेका छन्।

किम योङ-ह्युनले हिरासतमा मङ्गलवार राति आत्महत्या गर्न खोजेको जानकारी त्यहाँको न्याय मन्त्रालयअन्तर्गत रहेको कारागार हेर्ने निकायका प्रमुखले संसद्लाई दिएका थिए।

संसद्को हस्तक्षेप र सर्वत्र विरोध भएपछि राष्ट्रपतिले एक दिन पनि नबिती सैन्य शासन लागु गर्ने आफ्नो घोषणा फिर्ता लिनु परेको थियो। त्यसपछि रक्षामन्त्री र राष्ट्रपति कार्यालयका वरिष्ठ कर्मचारीले राजीनामा दिएका थिए।

किमलाई अनुसन्धानका लागि आइतवार पक्राउ गरिएको थियो।

आत्महत्याको प्रयास गरेको भए पनि त्यसपछि उनमा स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको शिन योङ-हेले बताए।

"विद्रोह गरेको" अभियोगमा राष्ट्रपति र उनका सहयोगीहरूविरुद्ध छानबिन चलिरहेको छ। तीमध्ये किम पनि एक हुन्।

राष्ट्रपतिसहित केही वरिष्ठ अधिकारीहरूलाई यात्रा गर्न प्रतिबन्ध पनि लागेको छ।

यसैबीच राष्ट्रपति यून सुक यउलको कार्यालयमा प्रहरीले छापा मार्न थालेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपतिको सुरक्षार्थ खटेको टोलीलाई छापाबारे अग्रिम जानकारी दिइएको थिएन।

यसअघि सन् २०१९ मा राष्ट्रपति कार्यालयममा प्रहरीले छापा मारेको थियो। यून सन् २०२२ मा राष्ट्रपति बनेका हुन्।

राष्ट्रपति यूनले सैन्य शासन घोषणा गर्ने आफ्नो कदमका लागि क्षमायाचना गरेका छन्। संसद्‌मा उनीविरुद्ध प्रस्तुत महाभियोगको प्रस्ताव विफल भए पनि उनकै दलभित्रबाट पनि राष्ट्रपतिको राजीनामा माग हुँदै आएको छ।

विपक्षी दलले उनीविरुद्ध फेरि महाभियोग अगाडि बढाउने तयारी गरेको छ।

हजारौँ मानिसले राष्ट्रपतिले पदत्याग गर्नुपर्ने वा उनलाई महाभियोग लगाएर पदच्युत गर्नुपर्ने माग सडकबाट गरेका छन्।

(बीबीसी)

तपाईँको मत