प्रधानमन्त्रीकाे भाषण : तपाईंहरूको नाम विश्वमा राख्छु
- २४ मङ्सिर सोमबार, २०८१ | १३:५४:०० मा प्रकाशित
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरो कामलाई गति दिने बताएका छन्। झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा एक हुनुपर्ने बताएका हुन्।
उनले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताए । उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिने बताए।
‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश बन्दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’
कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २,३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसंख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो । प्रधानमन्त्री ओलीले आइतबार देशकै अग्लो १८ तले दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरे।
प्रतिकृया दिनुहोस