जापानको कठोर यथार्थ: नेपालीहरूको सपनाभित्रको पीडा
- सन्ताेष सिम्खडा
- २३ मङ्सिर आइतबार, २०८१ | १७:३०:०० मा प्रकाशित
जापानमा पाइला राख्ने बित्तिकै धेरैले सोच्न सक्छन्- यो देश जादुको संसार हाे। सफा सडक, अनुशासित समाज, र विकसित पूर्वाधारले कुनै स्वर्गको कल्पना जगाउँछ। तर, यहाँको कठोर यथार्थ बुझ्नका लागि दिनरात पसिना बगाउने ती नेपालीको जीवन हेरिहेर्नुपर्छ, जसले आफ्नो सपना पूरा गर्न सबैभन्दा ठूलो मूल्य चुकाइरहेका छन्।
बेड मेकिङ गर्ने ५० कटेका आमाबाहरु हुन् या रातभरि यमतोमा भारी बोक्ने विद्यार्थी, जो दिउँसाे स्कुल जान्छन् अनि बिहानै सबेरै बेन्तोमा काम गर्नेहरु हुन वा दिनको १२ घन्टासम्म नेपाली रेस्टुरेन्टमा अत्यन्तै न्यून तलबमा पसिना बगाउने रेस्टुरेन्टका कुक दाजुहरु हुन्। उनीहरूको थकित अनुहारले एक मात्र कुरा बोल्छ- "यहाँ पैसाको बोट फल्दैन।" तर, घरमा बसेका परिवार र आफन्तले यो कुरा बुझ्दैनन्। आइफोन, महँगो गिफ्ट, र तडकभडकको अपेक्षा गर्नेहरूको लागि परदेशको पीडा कहिल्यै देखिँदैन।
फेसबुक र टिकटकले परदेशलाई स्वर्ग देखाउन सक्छन्। चम्किला तस्वीर र रमाइला भिडियोहरूले एकछिनका लागि परदेशको कठोर यथार्थलाई ढाक्छन्। तर, भित्रभित्रै नेपालीहरूको जीवन तीव्र प्रतिस्पर्धा, थकान, र निन्द्राहीन रातले भरिएको छ। यो देशले अनुशासन र अवसर दिन्छ, तर आफ्नो खुसी र परिवारको माया चुकाउनुपर्छ।
नेपालीको सपना भनेकै- "घर जस्तो जीवन र जीवन जस्तो घर।" तर, यो सपना पूरा गर्न उनीहरूले काठमाडौंबाट सीमित सोच राख्छन्। गाउँको बाँझो खेत छोडेर काठमाडौंमा घर बनाउने चाहनाले नेपालको विकास अवरुद्ध बनाएको छ। देशमा समृद्धि ल्याउन नेपालीहरूले काठमाडौंको सपना देख्न छोडेर गाउँ फर्कने आँट गर्नुपर्छ। खेतबारी रोप्नुपर्छ, उद्योग खोल्नुपर्छ, र आफ्नो देशमै केही गर्ने आत्मविश्वास राख्नुपर्छ।
जापानले हामीलाई धेरै कुरा सिकाउँछ- अनुशासन, कडा मेहनत, र समयको मूल्य। तर, यसले व्यक्तिगत जीवनमा गहिरो चोट पनि दिन्छ। परिवार छुट्ने पीडा, सामाजिक दूरी, र निरन्तरको मानसिक तनावले नेपालीहरूको जीवन बिथोलिन्छ। नेपाल फर्कने इच्छा धेरैको छ, तर समाजले बनाएको आर्थिक अपेक्षाले उनीहरूलाई यहाँ बन्धक बनाएको छ।
विदेशमा संघर्ष गर्ने हरेक नेपालीको एउटै चाहना छ- एउटा खुशीले भरिएको जीवन। तर, त्यो खुसी विदेशमा कहिल्यै पाइँदैन। आफ्नै माटोमा बाँच्ने चाहनालाई परदेशले थिचेको छ। तर, परिवर्तन ल्याउन अहिलेको समयमा नेपालीहरूले बिदेशमा कमाएको अनुभवलाई देशमै प्रयोग गर्नुपर्छ। गाउँबाट देश बनाउने सोच राख्नुपर्छ।
"नचुहिने घर बनाउने सपनाले निदाउन दिँदैन, तर हराभरा गाउँको कल्पनाले साँचो खुशी दिन सक्छ।"
नेपाल फर्केर गाउँको भविष्य निर्माणमा जुट्नु भनेकै नेपालीहरूको वास्तविक सफलता हो। जापानले दिएको सिकाइलाई देशकै विकासमा बदल्न सक्नु अहिलेको आवश्यकता हो।हाल जापान टोकियो
प्रतिकृया दिनुहोस