विद्युत

तिहारमा लाेडसेडिङ हुँदैन, चाहेजति विद्युत प्रयाेग गर्न कुलमान घिसिङकाे आग्रह

  • १५ कार्तिक बिहीबार, २०८१ | ११:५१:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा लाेडसेडिङ नहुने भन्दै धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन् ।

उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए ।

कार्यकारी निर्देशक घिसिङले सकेसम्म तिहारमा विद्युत् पुर्‍याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए । घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको बताए ।

उनले अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले अहिले पनि २१ सय मेगावट विद्युत् उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताए । उनले यो वर्ष बाढीपहिरोका कारण जलविद्युत् आयोजनाहरुमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘ करिब २ हजार एक सय मेगावाटको उत्पादन अहिले छ । तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ । दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ । अहिले पनि हामीले निर्यात गरिरहेका छौँ । यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो । १२ सय मेगावाट विद्युत् निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढीपहिरो गयो । तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ । तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन । बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ ।’

घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए ।

तपाईँको मत