राजनीति

राप्रपामा अध्यक्षको अधिकार के हो र होइन भन्ने टुंगो केन्द्रीय कार्य समितिमा हुने अवस्था विकसित

काठमाडौँ । राप्रपामा विधानको आफूखशी व्याख्या भइरहँदा पार्टी अध्यक्षको अधिकार के हो र होइन भन्ने टुंगो केन्द्रीय कार्य समितिमा हुने अवस्था विकसित भएको छ ।

प्रवक्ता मोहन श्रेष्ठले अहिले, पहिले र पछिका सबैले अध्यक्षको एकै अधिकार हुने भन्दै राप्रपामा विभाग गठन मात्र होइन विभागका सदस्यहरु समेत पार्टी अध्यक्षले तोक्ने बताएका छन् । श्रेष्ठले तथापि विधानको कुन धारामा यस्तो व्यवस्था छ भन्ने खुलाएका छैनन् । विभाग हेरफेर गरेको प्रेस विज्ञप्तिमा पनि विधानअनुसार भन्ने वाक्यांश मात्र छ, विधानको कुन व्यवस्थामा टेकेर विभागीय जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनले हेरफेर गरे खुलाइएको छैन ।

यद्यपि सोही अवस्था देखाउँदै पहिले, अहिले र पछिका अध्यक्षसहित पदाधिकारी सबैले विधानको स्पष्ट व्यवस्था पालना गर्नुपर्दछ भन्दै राप्रपाका युवा नेता प्रेम देसार भन्छन्, ‘महाधिवेशनबाट पारित विधानको धारा २४ (छ) र (झ) मा विभागहरु गठन गर्ने र तिनको काम, कर्तव्य, अधिकार तोक्ने अधिकार केन्द्रीय समितिमा निहीत छ ।’

देसार भन्छन्, ‘विधानको धारा ३२ को व्यवस्थाअनुसार अध्यक्षले अनुशासनसम्बन्धी प्रस्ताव अघि बढाउन र अनुशासन समितिको सिफारिस कार्यान्वयन गर्नसमेत केन्द्रीय समितिमा पेश गरेर निर्णय गराउनु पर्दछ । विधानमा अध्यक्षलाई महाधिवेशन प्रतिनिधिमध्येबाट आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्ने बाहेक अरु एकल अधिकार दिइएको छैन ।’

महाधिवेशनले पारित गरेको विधानको व्यवस्थाभन्दा पृथक अधिकार पार्टी अध्यक्षले प्रयोगमा ल्याएको भए संस्थापनले नै समानान्तर विधान र व्यवस्था चलाएको भन्ने अनौठौं अवस्था सिर्जना हुनेछ ।

विधान सम्बन्धमा कुनै द्विविधा भए विधानको परिभाषा गर्ने अन्तिम अधिकार केन्द्रीय समितिमा निहीत छ । त्यसकारण विभागीय हेरफेरको विवाद समाधान नभए यो मुद्दा अन्ततः केन्द्रीय समितिको एजेण्डा बन्ने निश्चित छ ।

महामन्त्री धवलशम्शेर राणालाई आन्दोलन परिचालन समितिको संयोजक र संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो । धवलशम्शेरको दुईवटा जिम्मेवारी भएकोले एक पद हटाएको भन्ने राप्रपा संस्थापनको दावी छ । तर, सोही दावी अध्यक्ष लिङदेनतर्फ सोझिएको छ, किनभने लिङदेनको पार्टीभित्र कम्तिमा पाँचवटा जिम्मेवारीहरु छन् ।

एक, उनी पार्टी अध्यक्ष, दुई मूल आन्दोलन समितिको संयोजक, तीन संसदीय दलको नेता र चार, लिङ्देन अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख छन् । यसको अतिरिक्त उनी प्रवास विभागमा पदेन भएर अनवरत देशविदेशको भ्रमणमा छन्, प्रवासमा संगठन बिस्तार गर्न र प्रवासी नेपालीहरुबाट चन्दा संकलन गर्न सक्रिय छन् ।

महामन्त्री धवलशम्शेर क्यान्सर उपचारको क्रममा भारतमा रहेको बेला घटस्थापनाको सार्वजनिक विदामा लिङदेनले उनलाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट एक्कासी पदमुक्त गरे । अमानवीय मात्रै होइन विधान मिचेर एक पक्षलाई भित्तामै पुर्याउन यसो गरियो भनेर लिङदेन आलोचनामा परेका छन् । अध्यक्षको पाँच जिम्मेवारी मात्र होइन पार्टी स्रोतका अनुसार, राप्रपामा सातवटासम्म जिम्मेवारी प्राप्त गर्ने नेता छन् ।

सक्रियताको कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र राजनीतिक विभागको एउटा मिटीङ पनि बसेको छैन, जबकी ४५ वटा विभागमध्ये संगठन विभाग सबैभन्दा क्रियाशील विभाग हो ।

धवलशम्शेरलाई कारवाही गर्ने लिङदेनको एकल निर्णयबारे पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी बेखबर थिए । त्यसैले राणाले अध्यक्षसमक्ष असन्तुष्टी व्यक्त गरे, विधानअनुकूल विवाद समाधान गर्न दवाब दिए भने डा. लोहनीले अध्यक्षको अमानवीय र अविवेकी कामप्रति असहमति प्रकट गर्दै वक्तव्य जारी गरे ।

राप्रपा अवस्था र व्यवस्था बदल्ने आन्दोलनको तयारीमा छ । लिङ्देनको अध्यक्षतामा गत असार १६ गते बसेको कार्यसम्पादन समितिका वैठकले देशभरीका प्रत्येक वडाबाट कम्तिमा तीनजना सके बढी युवा छनौट गरी केन्द्रबाट विशेष प्रशिक्षण दिने र बर्षादपछि निर्णायक आन्दोलन गर्ने निर्णय गरेको थियो ।

संस्थागत निर्णयका बाबजुद आन्दोलनबारे अध्यक्ष बेखबर थिए भनेर लिङ्देन पक्षधरले संचारमाध्यम र सामाजिक संजालमा बोलीरहेका छन् । पार्टी केन्द्रीय कार्यालयमा असोज ८ गते सम्पन्न आन्दोलनकेन्द्रीत प्रशिक्षक प्रशिक्षणको उद्घाटन कार्यवाहक अध्यक्षको हैसियतमा बुद्धिमान तामाङले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत