खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
- गाउँ सहर संवाददाता
- १४ असोज सोमबार, २०८१ | ०७:१४:०० मा प्रकाशित

खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन् । ३८ घरमा आंशिकरुपमा क्षति पुगेको छ । दुई जना घाइते भएका छन् ।
मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । ‘बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन’, उनले भने, ‘दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन्भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौं ।’
बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ ।
प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ ।
बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका १३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्’, उनले भने, ‘जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन । अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र ७९ लाख ९९ हजार बढीको क्षति भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।’
बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ ।
खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐंसेलुखर्क गाउँपालिका-४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका-१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ ।
विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो ।
फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस