गाउँ सहर

वर्षाको वितण्डा : बाढी, पहिराे, डुबानले धनजनकाे क्षति, सडक अवरूद्ध

काठमाडौं । लगातारको वर्षासँगैकोे पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ । काठमाण्डौ उपत्यका जोड्ने त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा बाढीपहिरोका कारण हिजोदेखि गाडी चल्न सकेका छैनन् ।

काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा नजिकै पहिरो खस्दा हिजोदेखि नै सडक अवरुद्ध भएको छ । सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । बर्दीबास–सिन्धुली–खुर्कोट–धुलिखेल जोड्ने बीपी राजमार्गको काभ्रेको भ्याकुरे खोला र चारसय बेँसीमा सडक अवरुद्ध भएको छ । चारसय बेँसीमा सडकमाथिबाट लेदो खसेको हो भने भ्याकुरे खोलामा बाढीले ह्युमपाइप बगाएको छ ।

बनेपामा पनि बाढीले सडक अवरुद्ध भएको छ । काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–पाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पनि पहिरोले अवरुद्ध भएका छन् । हेटौँडा–काठमाण्डाै जोड्ने सडकका विभिन्न ठाउँमा सडकमाथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेकाले अवरुद्ध भएको र वर्षाका कारण पहिरो पन्छाउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ ।

सरकारले हिजो र आज रात्रिबस नचलाउन आग्रह गरेपछि काठमाण्डौ प्रशासनले हिजो थानकोट हुँदै बाहिरिने गाडी कलङ्की, थानकोट र नयाँ बसपार्कमा रोकेको छ भने चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ । हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेपछि सडक खुलाउने भनिए पनि नौकिलो भन्ने ठाउँमा सडक भासिएकाले खुल्न समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा पनि सडक अवरुद्ध भएको छ । लगातार पानी परेका कारण पहिरो खसेको ठाउँमा सडक खुलाउन समय लाग्ने र अरू ठाउँमा पनि पहिरो खस्ने सम्भावना भएकाले सकेसम्म यात्रामा ननिस्कन र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

लगातारको अति भारी वर्षाका कारण देशभरमा बाढीपहिरोको कारण विभिन्न राजमाग अवरुद्धदेखि घर बगाएका छन् ।

काठमाडौंमा पनि हिजैदेखि परेको अविरल झरीले खोलानालामा पानीको सतह बढेपछि सडक एवम् त्यसक्षेत्रका घर डुबानमा परेका छन् ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो । यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ। निरन्तरको वर्षाका कारण सडक भासिएको हो । 

काभ्रेका विभिन्न स्थानमा पहिरोमा परेर नौजना बेपत्ता भएका छन् । तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

पनौती नगरपालिका वडा नम्बर १२ कोलाँती भन्ने स्थानमा गएराति साढे ३ बजे स्थानीय गोपाल तिमल्सिनाको घर पहिरोले बगाएको छ ।

पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएकोमा ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र १ जना अझै हराइरहेका प्रहरीले जनाएको छ । 

त्यसैगरी पनौती नगरपालिका ११ थुम्कीमा पनि पहिरोले घर बगाउँदा चार जना सम्पर्कविहीन भएका छन् । 

त्यसैगरी बनेपा नगरपालिका १४ थालचोकमा शनिबार बिहान पौने ६ बजे पहिरोले एउटा घर बगाउँदा दुईजना बेपत्ता भएका छन् । घटनास्थलमा प्रहरी चौकी साँगाबाट प्रहरी नायव निरीक्षक रुपेश श्रेष्ठको कमाण्डमा ५ जना प्रहरी खटिएका छन् । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत